काठमाडौं । आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल युएईसँग पराजित भएको छ ।
मलेसियाको यूकेएम ओभलमा शनिबार नेपाललाई युएईले १० विकेटले हराएको हो ।
नेपालले दिएको ९ रनको लक्ष्य युएईले १ ओभर १ बलमा बिना विकेटको क्षतिमा ९ रन जोड्दै पूरा गर्यो।
युएईको जितमा थिर्था सतिशले अविजित ४ रन जोडिन । लाभन्या केनी ३ रन अविजित रहिन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो ।
इतिहासकै खराब प्रदर्शन गरेको नेपालका लागि स्नेहा महराले ३ तथा मनिष रानाले अविजित २ रन जोडिन । किरण कुमारी कुँवर, अनु कडायत र आश्मा पुलामी मगरले १/१ रन जोडिन ।
अन्जली कुमारी विश्वकर्मा, साना प्रविन, सृष्टि जैशी, कृतिका मरासिनी, रन्जु श्रेष्ठ, अलिशा कुमारी यादव सुन्य रनमा आउट भए ।
युएईका महिका गौरले ५ विकेट लिईन । इन्धुजा नन्दकुमारले ३ विकेट हात पारिन् ।
छनोटमा नेपालको यो पहिलो हार हो । शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो।
युएईको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले भुटानलाई १ सय ६० रनले हराएको थियो ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रीकाको टिकट काट्ने छन् ।
अब नेपालले सोमबार भुटानविरुद्ध खेल्नेछ । त्यस्तै मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।