काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शनिबार दोस्रो अभ्यास खेल खेल्दैछ ।
नेपालले आज अमेरिकाको ह्युस्टन हरिकेन्ससँग अभ्यास खेल खेल्नेछ । खेल ५० ओभरको हुनेछ । खेल राति ९:१५ बजे सुरु हुनेछ ।
यस अघि नेपालले नेपालका पूर्व खेलाडीहरुको क्लब नेपाली अल स्टार्ससँग अभ्यास खेलेको थियो । अल स्टार्ससँग नेपाल ४ विकेटको पराजित भएको थियो ।
सिरिजको तयारी स्वरूप नेपाली टोलीले अभ्यास खेल खेलको हो ।
सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।
यस्तै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।
लिग टु को अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले अहिलेसम्म १२ खेल खेलेको छ । जसमा नेपालले ६ जित र ६ खेलमा हार व्यहोरेको छ ।