इंग्लिस भूमिमा नफापेका पोग्बा

काठमाडौं । पाउल पोग्बा र म्यानचेस्टर युनाईटेड एकपटक फेरि छुट्टिएका छन् । १६ वर्षकै उमेरमा युनाइटेडको जर्सी लगाएका पोग्बा १० वर्षअघि पनि युनाईटेड छाडेर इटालियन क्लब युभेन्ट्स गएका थिए ।
पाँच वर्ष अघि क्लब फर्किएका पोग्बाले पुन: युनाईटेड छाडेका छन् । यसपटक उनी कुन क्लब जाने हो अझै स्पष्ट भइसकेको छैन ।
युनाइटेडले बुधबार सामाजिक सञ्जालमा पोग्बाले क्लब छाडेको कुरा सार्वजनिक गरेको छ । युनाइटेडले पोग्बाले क्लबप्रति गरेको सेवाका लागि धन्यवाद दिँदै लेखेको छ, 'पल पोग्बाले सम्झौता सकिएपछि जुनको अन्त्यमा म्यानचेस्टर युनाइटेड छोड्ने घोषणा गरिसकेको छन् ।'
फ्रान्सेली खेलाडी पोग्बा लामो समयबाट युनाइटेडसँग आवद्ध थिए । १६ वर्षको उमेरमा उनी क्लब एकेडेमीमा भर्ना भए । तर, बीचमा उनले इटालियन क्लब युभेन्टससँग ४ वर्ष बिताए ।
उनी सन् २०१२ देखि २०१६ सम्म युभेन्टसको खेलाडी थिए । यसपछि सन् २०१६ मा उनी फेरि युनाइटेड फर्किए । उनी त्यसबेला कीर्तिमानी मूल्य १०० मिलियन पाउण्डमा इंग्लिस क्लबसँग जोडिएका थिए ।
यद्दपी पोग्बाले प्रिमियर लिगमा पछिल्लो ६ वर्षमा क्लबका लागि अपेक्षा गरेअनुसार राम्रो प्रदर्शन गर्न भने सकेनन् ।
तत्कालिन प्रशिक्षक जोसे माउरिन्होले पोग्बालाई सन् २०१६ मा युनाइटेडमा फिर्ता ल्याए । पोग्बाको आगमनसँगै क्लबको भाग्य फेरिने अपेक्षा गरिएको थियो ।
वास्तवमा, त्यो समयमा केही वर्षसम्म त युनाइटेड च्याम्पियन्स लिगमा छनोट पनि हुन सकेन । पोग्बा आएपछि पनि क्लबमा खासै परिवर्तन आएन । युनाइटेड इंग्लिस प्रिमियर लिग र च्याम्पियन्स लिगमा लगातार असफल भईरहेको छ ।
पोग्बाले युनाइटेडसँग आफ्नो पहिलो र दोस्रो राउण्डका खेलमा जम्मा २ सय ३३ खेल खेलेका थिए ।













