काठमाडौं । ०७८ को चैत २९ गते नेपाल सरकारको मन्त्रिपरिषद बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय गर्यो ।
सरकारको निर्णयसँगै झन्डै दुई वर्ष पछि सरेको राष्ट्रिय खेलकुद हुने पक्का भयो । वर्षको अन्तिम दिन सरकारले दिएको खुसीसँगै वर्ष ०७८ खेलकुदका लागि सुखद अन्त्य भयो ।
वर्ष ०७७ कोभिड-१९ को महामारीले नेपाली खेलकुद थलिएको थियो । कोभिड-१९ को महामारी घटेसँगै २०७८ को वर्ष नेपाली खेलकुद विस्तारै चलायमान बन्यो ।
वर्ष ७८ को सुरुआतमा विस्तारै अघि बढेको नेपाली खेलकुद वर्षको अन्त्यतिर निकै व्यस्त बन्यो।
साना ठुला राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताको आयोजनाले खेलाडी निकै व्यस्त बने । प्रमुख खेलहरु फुटबल, क्रिकेट, भलिबलसँगै सबै खेलका खेलाडीहरु व्यस्त रहे ।
वर्ष ०७८ मा नेपाली खेलकुदले अन्तराष्ट्रिय स्तरमा समेत सफलता हात पारे । भलै विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिकमा सहभागिता मात्र रह्यो ।
युनिभर्सालिटी कोटामा पौडी र एथलेटिक्सका तीन जनाले टोकियो ओल्मपिकमा सहभागीता जनाए । सुटिङ र जुडोमा दुई जनाले वाइल्ड कार्ड पाएर खेले । तर, राष्ट्रिय कीर्तिमान बाहेक अन्य उपलब्धि हासिल गर्न सकेन ।
चीनमा आयोजना भएको विन्टर ओलम्पिकमा भने नेपालले सहभागिता जनाउन पाएन ।
वर्ष ०७८ फुटबल व्यस्त रह्यो । घरेलु फुटबलमा 'ए', 'बी' र 'सी' डिभिजनको लिग भयो । आधा दर्जन बढी गोल्डकपले निरन्तरता पायो ।
अन्तराष्ट्रिय फुटबलमा समेत नेपाली टोली व्यस्त रह्यो । साफ च्याम्पियनसिपको उपविजेता बन्दै ऐतिहासिक उपलब्धि हासिल गर्यो ।
यस्तै कतार विश्वकप छनोट र एएफसी एसियन कप फुटबल छनोटको दोस्रो चरणमा सहभगिता जनायो ।
राष्ट्रिय पुरुष टोलीले भारत, इराक, ओमान, मरीसस र थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्यो ।
महिला टोलीले एसिया कप छनोट र बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्यो । महिलाको राष्ट्रिय लिगको पहिलो चरण सम्पन्न भयो ।
यस्तै पुरुष र महिला टोलीले उमेर समूहको अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो ।
आहा रारा, खप्तड गोल्डकप, झापा गोल्डकप लगायतका प्रतियोगिताले मोफसलको फुटबललाई चलायमान बन्यो ।
राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग फुटबल खेल्ने पहिलो नेपाली बने । कप्तान किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्दले विदेशी लिगमा आफुलाई अब्बल साबित गरे ।
चोटमुक्त हुँदै स्ट्राइकर विमल घर्ति मगर र सावित्रा भण्डारी मैदानमा पुनरागमन गर्न सफल भए । मछिन्द्रले लगातार दोस्रो पटक शीर्ष डिभिजनको उपाधि जित्यो । यस्तै पहिलो पटक एएफसी कप छनोटमा सहभागिता जनायो ।
फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको राजीनामा प्रकरणले चर्चा पायो ।
वर्ष ०७८ मा क्रिकेट समेत व्यस्त रह्यो । घरेलु प्रतियोगितासँगै अन्तर्राष्ट्रिय प्रतियोगिता र सिरिजका कारण क्रिकेटरहरु व्यस्त बने ।
नेपालले ओमानमा आयोजना भएको आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट खेल्यो । तर, युएईसँग सेमिफाइनलमा पराजित हुँदा नेपाल विश्वकपमा छनोट हुन सकेन ।
त्यसबाहेक नेपाली टोलीले विभिन्न टोलीसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्यो । हालै घरेलु मैदानमा भएको त्रिदेशीय टी-ट्वान्टी सिरिज नेपालले जितेको थियो ।
घरेलु प्रतियोगितामा एभरेष्ट प्रिमियर लिग, पुरुष र महिलाको प्रधानमन्त्री कप राष्ट्रिय टी-ट्वान्टी क्रिकेट, मेयर कप महिला क्रिकेट, यू-१९ महिला क्रिकेट आयोजना भयो ।
पुरुष टोलीले विश्वकप लिग टू अन्तर्गतको सिरिज समेत खेल्यो । महिला टोलीले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज जित्यो ।
क्रिकेटमा केहि विवादित घटना समेत घट्यो । क्यानले तत्कालिन क्रिकेट टिम कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई सोधेको स्पष्टिकरण र कारवाहीले क्रिकेट विवादित बन्यो ।
क्यानले सन्दीप लामिछानेलाई राष्ट्रिय टिमको कप्तान चयन गर्यो । पूर्व कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे । देभ वाट्मोरले राजीनामा दिएपछि क्यानले पुबुदु दशानायाकेलाई मुख्य प्रशिक्षक नियुक्त गर्यो ।
फुटबल र क्रिकेटको तुलनामा राष्ट्रिय भलिबलमा धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता भएन । तर, अन्तराष्ट्रिय प्रतियोगितामा भने महिला भलिबलले उपाधि जित्दै आफुलाई अब्बल साबित गर्यो ।
महिला टोलीले बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्यो । उज्वेकिस्तानलाई हराउँदै महिला टोलीले लगातार दोस्रो पटक उपाधि जितेको हो । पुरुष भलिबल टोलीको अन्तराष्ट्रिय सहभागिता भने निराशाजनक बन्यो ।
घरेलु प्रतियोगितामा एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप, टाइगर कप, प्रधानमन्त्री कप, मुख्यमन्त्री कपको आयोजना भयो । यस्तै संजय स्मृति महिला बिच भलिबलको आयोजना भयो ।
फुटबल, क्रिकेट र भलिबल बाहेक अन्य राष्ट्रिय खेलको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना भए ।
एथलेटिक्स, बास्केटबल, टेबल टेनिस, तेक्वान्दो, कराते, ब्याडमिन्टन, जुडो, फेन्सिङ, मुवाथाई, किकबक्सिङ लगायतका खेलको राष्ट्रिय तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरु आयोजना भए ।
ट्रायथोलनको साफ तथा एसियन च्याम्पियनसिप आयोजना भयो । फुटसलको ए डिभिजन लिग भयो । नेपालले एएफसी कप फुटसल छनोट समेत खेल्यो ।
ब्याडमिन्टनका प्रिन्स दाहाल जुनियरको विश्व वरीयताको विश्व वरीयतामा उक्लिदा चर्चाको शिखरमा पुगे ।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारालिम्पिकको तेक्वान्दोतर्फ कास्य पदकको नजिक पुग्दै ऐतिहासिक सफलता हात पारिन् ।
यस्तै बहराइनमा भएको एसियन युथ पारा गेम्समा पलेशाले ऐतिहासिक स्वर्ण पदक प्राप्त गरिन् ।
बक्सिङकी पुनम रावलले थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा कास्य पदक जित्न सफल भईन ।
खेलकुद राजनीतिले ०७८ मा निरन्तरता पायो । सरकार परिवर्तनसँगै एकै वर्ष चार खेलकुद मन्त्री बने । यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) का तत्कालिन सदस्य सचिव रमेश सिलवालको बर्खास्ती र टंकलाला घिसिङको नियुक्तिले वर्षको अन्तिमतिर खेलकुदको मुख्य निकाय ठप्प जस्तै बन्यो ।
राखेप सदस्य सचिव विहीन बन्दा एसियन गेम्सको तयारी समेत प्रभावित बन्यो ।
फुटबलको मुख्य गतिविधि -
- एएफसी कप २०२१ प्रारम्भिक छनोट (दोस्रो चरण)
- नेपाल सुपर लिग (एनएसएल)
- छैटौं विराट गोल्डकप
- इराकविरुद्ध मैत्रीपूर्ण खेल
- विश्वकप छनोट (दोस्रो चरण)
- ६ सी डिभिजन छनोट
- भारतविरुद्ध घरेलु मैदानमा मैत्रीपूर्ण खेल
- बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल (महिला)
-ओमानविरुद्ध मैत्रीपूर्ण खेल
-एएफसी महिला एसिया कप छनोट
- साफ च्याम्पियनसिप
-एएफसी यू-२३ एसिया कप छनोट
-उपमेयर कप राष्ट्रिय महिला लिग छनोट
- साफ यू-१९ महिला च्याम्पियनसिप
- सहीद स्मारक ए डिभिजन लिग
- साफ यू-१८ महिला च्याम्पियनसिप
- आहा रारा गोल्डकप
- मरिससविरुद्ध मैत्रीपूर्ण खेल
- शहीद स्मारक बी डिभिजन लिग
- खप्तड गोल्डकप
-झापा गोल्डकप
-राजर्षी जनक गोल्डकप
- जितपुर सिमरा गोल्डकप
-दमक गोल्डकप
-एएफसी कप २०२२ प्रारम्भिक छनोट (पहिलो चरण)
- राष्ट्रिय महिला लिग (पहिलो चरण )
- थाइल्याण्डविरुद्ध मैत्रीपूर्ण खेल
- इटहरी गोल्डकप
क्रिकेटको मुख्य गतिविधि -
- त्रिदेशीय टी-ट्वान्टी क्रिकेट
-एभरेष्ट प्रिमियर लिग
-प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट
- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी-ट्वान्टी क्रिकेट
- ललितपुर मेयर कप महिला क्रिकेट
-नेपाल क्रिकेट टिम श्रीलंका भ्रमण
- आईसीसी टी-ट्वान्टी विश्वकप ग्लोबल छनोट
- विश्वकप लिग टू (दुई त्रिकोणात्मक सिरिज)
- यू-१९ महिला राष्ट्रिय क्रिकेट
- पपुवा न्यूगिनीविरुद्ध दुई एकदिवसीय सिरिज
- त्रिदेशीय टी-ट्वान्टी सिरिज
- सन्दीप लामिछाने कप्तान नियुक्त
- पुबुद दासानायके प्रशिक्षक नियुक्त
- पारस खड्काको सन्यास
भलिबलको मुख्य गतिविधि -
- एभिसी एसियन सिनियर महिला सेन्ट्रल जोन च्यालेन्ज कप
- एभिसी एसियन सिनियर पुरुष सेन्ट्रल जोन च्यालेन्ज कप
- एनभिए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप (महिला र पुरुष)
- टाइगर कप महिला र पुरुष भलिबल
- प्रधानमन्त्री कप महिला भलिबल
- मुख्यमन्त्री कप पुरुष भलिबल
- सन्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल
अन्य खेलकुद -
- फुटसल ए डिभिजन लिग
-२५औं एसियाली टेबलटेनिस
-नेपालगंज म्याराथन
-शेख मुजिव ढाका म्याराथन
- भारोत्तोलन राष्ट्रिय प्रतियोगिता
- लामा टेण्डी स्मृति खुला महिला तथा पुरुष बास्केटबल
- सफल पोखरा म्याराथन
- प्रधानसेनापति म्याराथन
- विर गणेशमान फेन्सिङ
- केटिएम १० के रन
-प्रधानमन्त्री कप ब्याडमिन्टन
-एएफसी एसियन कप फुटसल छनोट
विवादास्पद गतिविधि -
- गोपीचन्द्र पार्की प्रकरण
- फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रकरण
- क्रिकेट प्रशिक्षक डेभ वाटमोरको राजीनामा
- क्यान उपाध्यक्ष र महासचिवको राजीनामा
- राखेप सदस्य सचिव रमेश सिलवाल बर्खास्त, टंकलाल घिसिङ नियुक्त
- क्रिकेट टिम कप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीलाई स्पष्टिकरण र कारवाही
- हरि खड्का सर्टिफिकेट प्रकरण
- ए डिभिजन क्लब र एनएसएल
- एन्फा निर्वाचन
खेलकुदले गुमाएका व्यक्ति -
-नर बहादुर शाही (एथ्लेटिक्स)
- रामजी प्रसाद बज्राचार्य (क्युकोशिन कराते)
- बिल तामाङ (फुटबल)
-कृष्ण बहादुर राई (कराते)
- राजेश हरि जोशी (चेस)
-लब खत्री (फुटबल रेफ्री)
-रुक्म शमसेर राणा (एनओसी पूर्व अध्यक्ष)
- होल्गर ओभरमन (फुटबल कोच)
-लामा टेण्डी शेर्पा (बास्केटबल)
- ज्ञानेन्द्र विष्ट (भलिबल)
- अन्जुनाथ श्रेष्ठ (आईटिएफ )
- विद्यासागर पोखरेल (कुस्ती )
- रामकुमार विश्वास (फुटबल)