काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको फाइनल खेलमा घरेलु टोली नेपालले भोलि सोमबार पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने नेपाल र पीएनजीबीचको खेल १२:३० मा सुरु हुनेछ ।
सिरिजमा नेपालले राउण्ड रोबिनको ४ खेलमा ४ जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । पीएनजी भने सुरुवाती ३ खेलमा पराजित हुँदा अन्तिम खेलमा मलेसियालाई पराजित गर्दा नेट रनरेटको आधारमा फाइनल छिरेको हो ।
मलेसिया समेत ४ खेलमा ३ हार र १ जित निकाल्दा पीएनजीसँग नेट रनरेटमा पछी पर्यो ।
सोमबार हुने फाइनल खेलको अघिल्लो दिन ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै नेपाल र पीएनजी दुवै राष्ट्र फाइनलको लागि तयार रहेको बाताएका छन् ।
घरेलु टोलीका कप्तान सन्दीप लामिछानेले कार्यक्रममा बोल्दै नेपाली समर्थकहरु क्रिकेट टिमको लागि बलियो पक्ष भएको बताएका हुन् ।
'मलाई समर्थकको माझ र प्रेसर अवस्थामा खेल्नु खेल्नु मन पर्छ । हाम्रो लागि हाम्रो समर्थक एक बलियो पक्ष हो ।' समर्थकमाझ खेल्नु कत्तिको प्रेसर हुन्छ भन्ने प्रश्नमा सन्दीपले भने, 'हामी जहिले तल परेको बेला समर्थकहरु आएर हौषला बढाउनु हुन्छ । यो नेपाल क्रिकेटको लागि बरदान हो की जो नेपाल क्रिकेटको लागि हरेक समय उपस्थित हुनुहुन्छ ।'