काठमाडौं । न्यूजिल्यान्डका डेरिल मिचेलले आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका छन् ।
आईसीसीले बुधबार मिचेलले सो अवार्ड हात पारेको जनाएको छ ।
अघिल्लो वर्ष अबु धाबीमा आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा इंग्ल्यान्डविरुद्धको सेमिफाइनल खेलका क्रममा रन लिन अस्विकार गरेका कारण स्पिरिट अफ क्रिकेट अवार्ड हात पारेका हुन् ।
यो अवार्ड हात पार्ने मिचेल न्यूजिल्यान्डका चौथो खेलाडी बनेका छन् । यस अघि ड्यानियल भिटोरी, ब्रेन्डन म्याकुलम तथा केन विलियम्सनले सो अवार्ड हात पारेका थिए ।
विश्वकपको सेमिफाइनलका क्रममा इंग्ल्यान्डले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याउने क्रममा मिचेलले रन अस्विकार गरेका थिए ।
खासमा न्यूजिल्यान्ड चार विकेट गुमाएर १ सय ३३ रन बनाएको अवस्थामा इंग्ल्यान्डका आदिल रसिदले १८ औं ओभर बलिङ गर्न आएका थिए ।
तर स्ट्राइकमा रहेका जेम्स निशामले खेलेको शतमा ननस्ट्राइकमा रहेका मिचेल बलर आदिलसँग ठोक्किएपछि उनले रन लिन अस्विकार गरे ।
मिचेलले आदिललाई रोक्न पुगेको भन्दै सो रन लिन अस्विकार गरेका थिए ।
न्यूजिल्यान्डले सो खेल ५ विकेटले जितेको थियो ।
सो खेलमा मिचेलले ४७ बलमा अविजित ७२ रन बनाएका थिए ।