काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नं. १ ले लगातार तेस्रो जित हात पारेको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा समूह ‘ए’ अन्तर्गत प्रदेश १ ले लुम्बिनी प्रदेशलाई ६७ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो ।
जितसँगै प्रदेश १ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
यता लुम्बिनीले भने तीन खेलमा पहिलो पराजय भोग्दै समूहको उपविजेताको रुपमा अन्तिम चारमा प्रवेश गरेको छ ।
यस समूहबाट बागमती प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
मंगलाबारको खेलमा १ सय १५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ४७ रन जोड्न सक्यो ।
लुम्बिनीका लागि सरस्वती पुन र नितु भण्डारीले समान ९–९ रन जोडे ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३ विकेट हात पारिन् ।
अलिसा खडियाले २ तथा संगिता राईले १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय १४ रन जोडेको थियो ।
प्रदेश १ का लागि अप्सरी बेगमले अविजित ४४ रन जोड्दा काजल श्रेष्ठले ४० रनको योगदान गरिन् ।
कप्तान रुविना क्षेत्रीले १५ रन बनाइन् ।
लुम्बिनीका लागि नेरी थापा, मधु डिसी र सरस्वती पुनले एक–एक विकेट लिए ।