काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले नेपाललाई टेस्ट मान्यताको दीर्घकालिन लक्ष्य हासिल गर्न मुख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।
क्रिकइन्फोसँगको कुराकानीमा लामिछानेले नेपाललाई एकदिवसिय मान्यता भन्दा माथि उठाउने लक्ष्य राखेको बताए ।
लामिछानेले नेपाललाई पहिलो पटक एकदिवसिय विश्वकप खेल्ने मात्र नभएर टेस्ट राष्ट्रको मान्यता प्राप्त गर्ने लक्ष्य हासिल गर्न मुख्य भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन् ।
‘हामीलृ सबै एउटा कुरा भन्दै आएका छौ कि हामीले एकदिवसिय विश्वकप खेल्नुपर्छ र टेस्ट राष्ट्र बन्नुपर्छ । पक्कै पनि यो नयाँ चुनौती हुनेछ र जबसम्म म त्यहाँ छु, हामीले टेस्ट राष्ट्र बन्नका लागि हाम्रो तर्फबाट सम्भव भएसम्मको प्रयास गर्नेछौ,’ लामिछानेले बताए ।
लामिछानेले केवल २१ जनाको टोली तथा पदाधिकारीहरुको मात्र नभएर ३ करोड नेपालीको नेतृत्व गर्न पाउनु आफ्ना लागि असाध्यै खुसी लागेको प्रतिक्रिया दिए ।
लामिछानेले विगतमा नेपाली क्रिकेटमा निकै उतारचढाव भएपनि आफ्नो नेतृत्वमा आफूहरुले केवल उज्जवल दिनहरुको खोजीमा हुने बताए ।
उनले नेपाली टोलीले मैदान बाहिरका विगतका असहमतिहरुलाई पन्छ्याएर मैदानमा राम्रो प्रदर्शन गरी सन् २०२३ को विश्वकपका लागि छनोट हुने आशा व्यक्त गरे ।
उनले खेलाडीहरु मैदान बाहिर भएका विवादलाई विर्सेर अघी बढ्ने विश्वास समेत व्यक्त गरे ।
मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान) ले कारवाहीस्वरुप ज्ञानेन्द्र मल्लको कप्तानको जिम्मेवारी खोस्दै लामिछानेलाई कप्तान नियुक्त गरेको थियो ।
क्यानले दिपेन्द्र सिंह ऐरीको उपकप्तानको पद समेत खोसेको थियो । साथै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।
लामिछानेले सबै खेलाडी तथा क्यान एक ठाँउमा आएर नेपाललाई नयाँ उचाईमा पुर्याउनुपर्ने धारणा व्यक्त गरे ।
लामिछानेले ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिंह ऐरी नेपाली क्रिकेटका बलिया खम्बा भएको तथा उनीहरुले नेपालका लागि खेल्नुका साथै आफूलाई प्रमाणित गरेर देखाउने विश्वास व्यक्त गरे ।