काठमाडौं । नेपाली यू–१९ क्रिकेट टिमका कप्तान देव खनालले एसीसी यू–१९ एसिया कपमा सम्झन लायक प्रदर्शन गर्ने लक्ष्य रहेको बताएका छन् ।
युनाईटेड अरब इमिरेट्समा हुने प्रतियोगितामा सहभागि हुन जान अघि बिदाई कार्यक्रममा खनालले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता सम्झन लायक बनाउने लक्ष्य रहेको बताए ।
‘प्रतियोगितामा नेपालको लागि राम्रो गर्ने तथा पहिलो अन्तर्राष्ट्रिय टुरलाई सम्झन लायक बनाउने उदेश्य छ,’ खनालले भने ।
उनले कप्तानको जिम्मेवारी आफ्ना लागि अवसरको रुपमा रहेको बताउदै टिम र आफ्नो लक्ष्य भनेको फाइनल प्रवेश गर्नु रहेको जनाए ।
‘हामीले प्रतियोगितामा केवल सहभागि हुन मात्र जाने होइन भन्ने छ । लक्ष्य भनेको फाइनल नै हुन्छ,’ खनालले थपे ।
कप्तान खनालले प्रतियोगिता कुन टिम भन्दा पनि जसले राम्रो खेल्छ उसले जित्छ भन्ने मानसिकता रहने उल्लेख गरे ।
यता प्रशिक्षक वशन्त शाही ठकुरीले प्रतियोगिताको लागि तयारी समय कम भएको बताए ।
‘छनोट प्रतियोगिता पनि समयमा नभएको कारण पर्याप्त समय पाउन सकेनौ । हामीले १३ दिनको बन्द प्रशिक्षण गर्र्यौ, जतिपनि कमीकमजोरी थिए त्यसलाई सुधारेर राम्रो टिम बनाएका छौ,’ प्रशिक्षक ठकुरीले बताए ।
तर उनले यू–१९ राष्ट्रिय प्रतियोगिताले तयारीमा सहयोग पुगेको उल्लेख गरे । साथै नेपाल प्रहरी र नेपाल एपीएफ टिमसँगको अभ्यास खेलले पनि तयारीमा सहयोग पुगेको बताए ।
प्रशिक्षक ठकुरीले नेपालको पहिलो लक्ष्य भनेको सेमिफाइनल प्रवेश गर्नु रहेको जनाए ।
‘हाम्रो पहिलो लक्ष्य टेस्ट राष्ट्रलाई आश्चर्यचकित पारेर सेमिफाइनलमा प्रवेश गर्नु हो,’ ठकुरीले बताए ।