काठमाडौं । सुदुरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा समूह ‘बी’ अन्तर्गत सुदुरपश्चिमले गण्डकी प्रदेश र एपीएफले प्रदेश नं. २ लाई पराजित गरेका हुन् ।
सोमबार भएको दोस्रो खेलमा सुदुरपश्चिमले गण्डकीलाई ९ विकेटले पराजित गर्यो ।
सुदुरपश्चिमले जितका लागि चाहिएको ३२ रनको लक्ष्य केवल २ दशमलब १ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
सुदुरपश्चिमका लागि कविता जोशीले सर्वाधिक ८ रन तथा शोभा रोकायाले ५ रन जोडे ।
गण्डकीका बलरहरुले १९ अतिरिक्त रन खर्चेका थिए ।
गण्डकीका लागि एकमात्र विकेट मनिसा उपाध्यायले हात पारिन् ।
यस अघि पहिले ब्याटिङ गर्दै गण्डकी १८ ओभरमा ३१ रन जोड्दै अलआउट भएको थियो ।
गण्डकीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन ।
सुदुरपश्चिमका लागि दिपा जोरा र कविता जोशीले समान दुई–दुई विकेट हात पारे ।
कविता कुँवर र इश्वरी विष्टले एक–एक विकेट लिए ।
यसैगरी, सोमबार १५ ओभर मात्र खेलाइएको पहिलो खेलमा एपीएफले प्रदेश २ लाई ४८ रनले पराजित गर्यो ।
एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले निर्धारित १५ ओभरमा ९ विकेट गुमाएर ५० रन जोड्न सक्यो ।
प्रदेश २ का लागि मेलिना रायमाझीले सर्वाधिक २० रन जोडिन् । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन ।
एपीएफका लागि शुष्मा श्रेष्ठले सर्वाधिक दुई विकेट हात पार्दा सोनु खड्का, रेखा रावल, करुणा भण्डारी र सिता राना मगरले एक–एक विकेट लिए ।
पहिले ब्याटिङ गर्दै एपीएफले ज्योती पाण्डेको २४ र इन्दु बर्माको २१ रनको मदतमा ८ विकेट गुमाएर ९८ रन जोडेको थियो ।
प्रदेश २ का लागि विमला मगरले सर्वाधिक ३ विकेट हात पारेकी थिइन् ।
सन्तोषी चौधरी, रोजी कडारी र अनुराधा चौधरीले एक–एक विकेट लिए ।