काठमाडौं । क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले क्रिकेट खेलाडीहरूलाई गरिएको कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्ने जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर २९ गते अनुशासनको कारण देखाउदै ज्ञानेन्द्र मल्ललाई कप्तान र दिपेन्द्र सिंह ऐरीलाई उपकप्तान पदबाट पदमुक्त गरेको थियो ।
मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रीय सम्झौतामा सुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको थियो ।
तर सिप्यानले खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुम्र जाने अवस्था सिर्जना भएको जनाएको छ ।
पछिल्लो समय उक्त सम्झौतालाई लिएर क्यान र खेलाडीबीच विवाद चर्कदै गएको छ ।
सिप्यानले वर्गीकरण जस्तो महत्वपूर्ण विषयवस्तुलाई पारदर्शी रूपमा निश्चित मापदण्ड तोकेर अवलम्बन गर्दै तर्कसम्मत र त्रुटी रहित बनाउन तथ्यपरक वस्तुपरक र वैज्ञानिक बनाइनुपर्ने आवश्यकता रहेको उल्लेख गरेको छ ।
यसका साथै क्यान र खेलाडीहरूको बीचमा रहेको यस विषयसँग सम्बन्धित तिक्तता मेटाई खेलाडीहरूको मनोबल उच्च बनाई राम्रा र समग्रमा नेपाली क्रिकेटको भलो हुने कदम उठाउनु पर्ने आवश्यकता रहेको समेत सिप्यानले जनाएको छ ।