काठमाडौं । प्रदेश नं. १ र लुम्बिनी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
प्रदेश १ र लुम्बिनीले समूह ‘ए’ मा समान दुई–दुई खेल जित्दै अन्तिम चारमा प्रवेश गरेका हुन् ।
यता यस समूहबाट बागमती प्रदेश र कर्णाली प्रदेशले समान दुई–दुई खेलमा पराजय भोग्दै एक खेल अगाबै प्रतियोगिताबाट बाहिरिएका छन् ।
फाप्ला क्रिकेट मैदानमा आईतबार भएको दोस्रो खेलमा प्रदेश १ ले बागमतीलाई ५५ रनले पराजित गरेपछि प्रदेश १ सँगै लुम्बिनी पनि सेमिफाइनलमा प्रवेश गरे ।
दोस्रो खेलमा १ सय १५ रनको लक्ष्य पछ्याएको बागमतीले ८ विकेट गुमाउदै केवल ५९ रन जोड्न सक्यो ।
बागमतीका लागि सुमन खतिवडाले सर्वाधिक २१ रन जोडिन् ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्री, ज्योती दनुवार र अलिसा खडियाले समान एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गर्दै प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १४ रन जोड्यो ।
प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले अविजित ५१ रनको योगदान गरिन् । स्मृति कटुवालले २० रन जोडिन् ।
बागमतीका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले समान दुई–दुई विकेट लिए ।