काठमाडौं । राष्ट्रिय क्रिकेट टिमलाई केल्मी नेपालले प्रयोजन गरेको छ ।
काठमाडौंमा आईतबार एक कार्यक्रमका बीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
क्यान अध्यक्ष चन्दले सम्झौता दुई वर्ष समय अवधिको रहेको बताए ।
सम्झौता अनुसार केल्मीले नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू–१९ र यू–१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता प्रदान गर्नेछ ।
वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्नेछ ।
सम्झौता लगभग ६५ लाख बराबरको रहेको छ ।
केल्मीका निर्देशक न्यौपानेले केल्मीका लागि यो सम्झौता खुसीको दिनका रुपमा रहेको बताए ।
‘हामीले यो सम्झौता दुई वर्षका लागि गरेपनि पछि थप्दै जानेछौ । हाम्रो सहकार्य लामो समयसम्म रहिरहने विश्वास छ,’ न्यौपानेले बताए ।
कार्यक्रमका प्रमुख अतिथी महेश्वर गहतराजले नेपाली क्रिकेटका लागि महत्वपूर्ण क्षणको रुपमा रहेको बताए ।
केल्मीको सहयोगले खेलाडीहरुको खेलकुद सामाग्रीको अभाव नहुने विश्वास मन्त्री गहतराजले व्यक्त गरे ।
‘यसले खेलाडीको मनोबल उठाउने छ,’ उनले थपे ।
केल्मीले नेपालका विभागीय टोली, भलिबल टिम साथै अन्य खेलकुद संस्थाहरुलाई प्रायोजन गर्दै आएको छ ।