काठमाडौं । ओपनर ब्याट्सम्यान कुशल भुर्तेल, आसिफ शेख र तीब्र गतिका बलर बिक्रम सोबले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन्।
पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको सुरुवाती-११ मा पर्दै कुशल, बिक्रम र आसिफले डेब्यु गरेका हुन् ।
नेपालले कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा सुरुवाती-११ को घोषणा गरेको छ। जसमा तीनै खेलाडी परेका हुन् ।
कुशल र आसिफले नेपालमा आयोजना भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रियबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।
बिक्रमको भने यो राष्ट्रिय टोलीका लागि डेब्यु हो ।
नेपाली टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरीले भने पीएनजीबिरुद्धको खेल गुमाउने भएका छन् । उनले अभ्यासको दौरान चोट बोकेका छन् ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको छ। पीएनजीले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेलिरहेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।
नेपालको सुरुवाती–११ :
ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, शरद भेषवाकर, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, बिक्रम सोब, पवन सर्राफ