काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
पीएनजीले ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा फिल्डिङ गर्ने भएको हो ।
दुई खेलको सिरिज अन्तर्गत नेपालले आज पीएनजीसँग पहिलो खेल खेल्न लागेको हो । दोस्रो खेल भने शुक्रबार हुनेछ ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग खेल्न लागेको हो।
नेपालले १९ महिनापछि एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक लिग–२ अन्तर्गत अमेरिकासँग २०७६ को माघ २९ मा टियु क्रिकेट मैदानमा खेलेको थियो ।
नेपाल र पीएनजीबीच पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय खेल हुन लागेको हो । यस अघि नेपाल र पीएनजीले एकदिवसीय फर्म्याटमा ४ खेल भने खेलेको छ ।
पछिल्लो तथ्यांक हेर्दा नेपालले एकदिवसीयको ४ भेटमा पीएनजीमाथि एक मात्र जित निकालेको छ ।
नेपालले सन् २०१८ को मार्चमा पीएनजीलाई हराएको थियो । जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले पीएनजीमाथि ६ विकेटको जित निकालेको थियो ।
त्यसअघि सन् २००५ फेब्रुवरीमा भएको पहिलो भेटमा नेपाल पीएनजीसँग ७० रनले पराजित भएको थियो ।
यस्तै २०१५ मा युएईमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपाल २ विकेट र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो ।