काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोर स्वदेश फर्किएका छन् । उनी मंगलबार बिहान स्वदेश फकिएको क्यानका सचिव असोकनाथ प्याकुरेलले जानकारी दिए ।
दोस्रो लहरको कोरोना महामारीका कारण नेपाली क्रिकेट संघ (क्यान) का सम्पूर्ण गतिविधि स्थिगित रहेकोले प्रशिक्षक वाटमोर स्वदेश फर्किएको क्यान सचिव प्याकुरेलले जानकारी दिए । सचिव प्याकुरेलले वाटमोर अब कोरोनाको स्थिती सामान्य भएपछि मात्रै नेपाल फर्किने जानकारी दिए ।
‘उहाँ आज बिहान श्रीलंकाका लागि उड्नु भएको हो । आजबाट अन्तर्राष्ट्रिय उडान पनि स्थिगित गरिएकाले उहाँ बिहानको अन्तिम उडानमा मलेसिया हुँदै श्रीलंका प्रस्थान गनु हुनेछ,’ क्यान सचिव प्याकुरेलले भने ।
उनले थपे, ‘अहिले सबै गतिविधि थप्पछ । अन्य कुनै कार्य गर्न सकिने अवस्था पनि छैन् । उहाँले पनि घर जाने इच्छा देखाई रहनु भएको थियो । आज जानु भयो । अब नेपालको अवस्थान सामान्य भएपछि मात्रै फर्किनु हुन्छ ।’
२०२१ को सुरुवातमा नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त हुनु भएका वाटमोरको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेको थियो ।
करिब १४ महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्किएको नेपालले वाटमोरकै प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको थियो । यसअघि ब्याटिङमा देखिने समस्या वाटमोर पछि भने नेपाली टोलीको ब्याटिङमा पनि सुधार आएको अनुभुति भएको थियो ।
नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको उपाधि जितेको थियो । यस सिरिजनमा नेपाली टोली र खेलाडीले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान समेत बनाएका थिए ।