काठमाडौं । एमाले अध्यक्ष केपी ओली पक्षले रमेश पौडेलको नेतृत्वमा नेपाल खेलकुद महासंघ गठन गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पौडेलको नेतृत्वमा ५ सय ५१ सदस्यीय कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा पर्शुराम बस्नेत, सुभाष श्रेष्ठ, गोबिन्द भट्टराई, एकेन्द्र कुँवर, दिपेन्द्र दाहाल, प्रभात बिक्रम कट्वाल, मानदेव हजारा, भिम ओली, सुदर्शन गुरुङ, धुव्र आचार्य, ओम प्रसाई, चेतन राज गिरी लगायत छन् । सुभाष, गोबिन्द, एकेन्द्र, मानदेव राखेपका बोर्ड सदस्य हुन् ।
महासंघको महासचिवमा मेघराज पौडेल चयन भएका छन् । उनी क्लाइम्बिङ्ग संघका महासचिव हुन् ।
उपमहासचिवमा राखेप कार्यकारी सदस्य नन्दा बस्याल, सान्ता माया परियार, प्रदीप खत्री, धर्म लामा, रामकुमार खड्का, कपिल देव न्यौपाने, पराग शाह लगायत छन् ।
यस्तै, सचिवमा पुरन गिरी, दिपक न्यौपाने, उमेश केसी र राजकिशोर सिंह लगायत छन् । यस्तै, कोषाध्यक्षमा विदुर शर्मा र सह कोषाध्यक्षमा रुपेश अधिकारी, उज्जवल घिमिरे लगायत छन् ।
एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको नेतृत्वमा माधव नेपाल पक्षका पुरुषोत्तम पौडेल अध्यक्ष छन् । पौडेललाई कारबाही गर्दै ओली पक्षले काठमाडौंमा समानान्तर कमिटि गठन गरेको हो ।
एमाले पार्टी भित्रको अन्तरविरोध चर्किदै खेलकुद महासंघसम्म आईपुगेको छ । माधव नेपाल समुह हाबी रहेको खेलकुद महासंघसंग जुध्न ओली पक्षले समेत समानान्तर कमिटि गठन गरेको हो ।
पुरुषोत्तम पौडेल नेतृत्वको खेलकुद महासंघले हप्तादिन अघि मात्र काठमाडौंको कीर्तिपुरमा राष्ट्रिय भेला आयोजना गर्दै जिम्मेवारी तोकेको थियो । त्यसको विरुद्धमा ओली पक्षले युवा संघका पुर्व अध्यक्ष रमेश पौडेलको नेतृत्वमा खेलकुद महासंघ गठन गरेको हो । ओली पक्षको नवगठित खेलकुद महासंघमा युवा संघ र ओली निकट मदन भण्डारी स्पोर्टस एकेडेमीका नेता कार्यकर्ताको वर्चस्व छ ।