काठमाडौं । होप भ्याली र रातो बंगलाले प्रथम ओसिस कप उपत्यका व्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । सोमबार भएको फाइनलमा ब्वाइजतर्फ होप र रातो बंगलाले गल्र्समा उपाधि जित्यो ।
ढोलाहिटीस्थित आयोजक ओसिस इङलिस स्कुलको कोर्टमा भएको प्रतिस्पर्धात्मक ब्वाइज फाइनलमा होप भ्यालीले विल्सन एकेडेमीलाई ५३–५० को साँघुरो अन्तरले पराजित गरायो । होप भ्यालीको जितमा सिजन महतले २२ अंक योगदान गरे ।
तेश्रो क्वाटरको समाप्तिसम्म ३४–४२ ले पछि परेको स्थितिलाई उल्ट्याउदै होप भ्याली उपाधि जित्न सफल भएको थियो । होप भ्याली पहिलो क्वाटरमा १३–२० र दोश्रोमा १०–१६ ले पछाडि परेको थियो । तेश्रो क्वाटरमा अग्रता लिएको होप भ्यालीले ११–६ को प्रदर्शन गर्यो । अन्तिम तथा चौथो क्वाटरमा १९–८ को अग्रता बनाउदै होप भ्यालीले उपाधि सुनिश्चित गर्यो ।
गल्र्सको थ्री अन थ्री उपाधि भिडन्तमा रातो बंगलाले एलआरआईलाई १५–४ ले हरायो । रातो बंगलाकी श्रेयाशी राणाले सर्वाधिक १० अंक जोडिन् । त्यस्तै आश्था रिजालले ४ तथा टीसा मानन्धरले १ अंक थपे ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सिजन र श्रेयाशी आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । ब्वाइजमा उपविजेता विल्सनका पेम्बा शेर्पा र गल्र्समा पनि उपविजेता एलआरआईकै सोनिया राणा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।
प्रतियोगिता भर पेम्बाले ९६ तथा सोनियाले १५ स्कोर गरे । ब्वाइजमा एरिस एकेडेमी र गल्र्समा ग्रामरले अनुशासित टिमको उपाधि हात पारे ।
प्रतियोगितामा ब्वाइजमा १६ र गल्र्समा १२ गरी २८ टिमले प्रतिस्पर्धा गरेका थिए ।