एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्सले ईन्डियन प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (आईपीएल) मा पहिलो जित निकालेको छ ।
चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।
मुम्बईले दिएको १ सय ५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
कोलकत्ताका नितिश रानाले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै शुबनम गिलले ३३ रन जोड्दा कप्तान इयान मोर्गन ७ रनमा आउट भए ।
मुम्बईका राहुल चाहरले ४ विकेट लिए । ट्रेण्ड बोल्टले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो ।
मुम्बईका लागि सुर्य कुमार यादवले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ३६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित शर्माले ४३ रन बनाए । हार्दिक पाण्डय र कुर्नाल पाण्डय समान १५/१५ रनमा आउट भए ।
कोलकत्ताका आन्द्रे रसेलले ५ विकेट लिए । किफायती बलिङ गरेका उनले २ ओभरमा १५ रन खर्चिए ।
पाट कुमिन्सले २ विकेट लिए ।
जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।
कोलकत्ताको यो पहिलो हार हो । कोलकत्ताले पनि २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा कोलकत्ताले सनराइजर्स हैदरावादलाई १० रनले हराएको थियो ।