काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन 'माई सेकेण्ड टिचर' ले प्रायोजन गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार माई सेकेण्ड टिचरको आईएनजी ग्रुपसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
'माई सेकेण्ड टिचर' ले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सीलाई प्रायोजन गरेको हो ।
सम्झौता रकम भने खुलाईएको छैन ।
सम्झौतासँगै नेपाली टिमको जर्सीमा माई सेकेण्ड टिचरको लोगो रहनेछ । यस्तै आईएनजी ग्रुप र इस्लिङ्गटन कलेजको लोगो प्रयोग गर्नेछ ।
नेपालले बैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । उक्त सिरिजमा नेपालले नयाँ जर्सी प्रयोग गर्ने छन् ।
टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ४ गते खेल्नेछ ।
कार्यक्रममा नेपाली टिमको जर्सी समेत सार्वजनिक गरिएको थियो ।
आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गरे ।
आईएनजी ग्रुपका संस्थापक बुढाथोकीले क्रिकेटले नेपाललाई एक जुट बनाएको कारण प्रायोजन गरिएको बताए ।
'हाम्रो प्रस्ताव स्वीकार गरेकोमा क्यान परिवारलाई धन्यवाद । क्रिकेटले नेपाललाई एक ढिक्का बनाएर जोड्न खोजेकोले हामीले पनि क्रिकेट प्रायोजनका लागि रोजेका हौँ,' उनले भने ।
कप्तान मल्लले यस्ता प्रायोजनहरुबाट नेपाली क्रिकेट माथि उठ्ने विश्वास व्यक्त गरे ।
'नेपाली राष्ट्रिय टोलीको प्रायोजकको रुपमा आएकोमा माई सेकेण्ड टिचरलाई धन्यवाद । यस्ता प्रायोजनले नेपाली क्रिकेटलाई माथी उठाउन मद्दत गर्नेमा हामीले विश्वास लिएका छौँ । क्यानलाई पनि धन्यवाद, जसले यस्तो बेलामा पनि घरेलु मैदानमा सिरिजको आयोजना गर्दैछ ।'
नेपाली टिमका मुख्य प्रशिक्षक डेव वाट्मोरले नेपाली क्रिकेटले यस्ता प्रायोजक वर्षौंसम्म पाउनु पर्ने बताए ।
'खेलकुदलाई प्रायोजक चाहिन्छ । यस्तो प्रायोजक नेपाली क्रिकेटले वर्षौसम्म पाउनु पर्छ', उनले भने ।
एडप्याड तथा एएनएस ग्रुपका अध्यक्ष सुदिप थापाले यस कार्य सुरुवात मात्र भएको बताए ।
'यो सुरुवात मात्र हो । सबैले साथ र सहयोग गरेमा अझ धेरै नेपाली खेलकुदमा प्रायोजक खोज्न सक्छौ । हामी भर्खर क्यानसँग सहकार्य गरिरहेका छौ,' उनले भने ।