काठमाडौं । सुदूरपश्चिम प्रदेश पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको आफ्नो लिग चरणको अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको हो ।
टियु क्रिकेट मैदानमा लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा मन्जु बोकटीले सर्वाधिक २६ रन जोडिन । बिन्दु रावल १७ रनमा अविजित रहिन् ।
रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाईन ।
लुम्बिनीका कृतिका मरासिनीले २ विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो।
लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
लुम्बिनीलाई सस्तैमा समेट्न लक्ष्मी साउदले ४ विकेट लिईन् । ऋतु कनौजियाले ३ तथा सुनिता लुहर र कविता जोशीले १/१ विकेट लिईन् ।
लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अंक जोड्यो । र, सुदूरपश्चिमले दोस्रो स्थान पक्का गर्दै फाइनल यात्रा तय गरेको हो ।
अब फाइनलमा सुदूरपश्चिमले एपीएफ क्लबसँग खेल्नेछ । एपीएफ एक खेल अगाबै फाइनल पुगिसकेको छ ।
एपीएफको ३ खेलमा ६ अंक जोडेको छ । एपीएफले अन्तिम लिग खेलमा लुम्बिनीसँग खेल्नेछ ।
लुम्बिनीले ३ खेलमा अंक जोड्न सकेको छैन । लुम्बिनी बाहिरिएको छ ।
सुदूरपश्चिमको जितसँगै प्रदेश-१ र ललितपुर मेयर्स-११ पनि बाहिरिएको छ ।