काठमाडौं । सुदूरपश्चिम प्रदेशले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा प्रदेश-१ लाई ४० रनले हराएर सुदूरपश्चिमले दोस्रो जित निकालेको हो ।
सुदूरपश्चिमले दिएको १ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको प्रदेशले १८ ओभर ५ बलमा अलआउट हुँदै ८९ रन मात्र बनाउन सक्यो ।
प्रदेश-१ का लागि रुबिना क्षेत्रीले सर्वाधिक २७ रन जोडिन । अप्सरी बेगमले २२ रन जोड्दा संगीता राईले १३ रन बनाईन । निग्मा तामाङले १० रन बनाईन ।
प्रदेश-१ लाई सस्तैमा समेट्न सुदूरपश्चिमकी स्पिनर लक्ष्मी साउदले ह्याट्रिकसहित ४ विकेट लिईन् ।
उनले १८ औं ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा विकेट लिदै ह्याट्रिक पूरा गरिन् । लक्ष्मी जारी प्रतियोगितामा ह्याट्रिक विकेट लिने पहिलो खेलाडी हुन् ।
कविता कुँवर र कविता जोशीले २/२ विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि बिन्दु रावलले ५२ रनको अर्धशतकीय इनिङ्गस खेलिन् ।
यस्तै रेवती धामीले ३० रन जोड्दा कविता जोशीले २१ रन जोडिन ।
प्रदेश-१ की शबनम राईले २ विकेट लिईन । ज्योति दनवारले १ विकेट लिईन् ।
जितसँगै सुदूरपश्चिमले ३ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा ललितपुरलाई हराएको सुदूरपश्चिम दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो ।
प्रदेश-१ पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनीलाई हराएको थियो ।
प्रदेश-१ ले ३ खेलमा २ अंक जोडेको छ ।