एजेन्सी । घरेलु टिम दक्षिण अफ्रीकाले पाकिस्तानविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा जित निकालेको छ ।
जोहान्सबर्गमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले पाकिस्तानलाई १७ रनले हराएको हो ।
यससँगै दक्षिण अफ्रीकाले ३ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ ।
दक्षिण अफ्रीकाले दिएको ३ सय ४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २४ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि फखर जमानले १ सय ९३ रनको शतकीय इनिङ्स खेले । करियरकै उत्कृष्ट इनिङ्स खेलेपनि उनले टिमलाई जित दिलाउन भने सकेनन् ।
जमानले एकदिवसीय क्रिकेटमा लक्ष्य पछ्याउने क्रममा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको कीर्तिमान समेत बनाए ।
यस्तै कप्तान बाबर आजमले ३१ रन जोड्दा आसिफ अलीले १९ रन बनाए ।
दक्षिण अफ्रीकाका एन्रीच नोर्कियाले ३ विकेट लिए । एडिलेको नाममा २ विकेट रह्यो ।
यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ४१ रन बनाएको थियो ।
दक्षिण अफ्रीकाका लागि कप्तान तेम्बा बाभुमाले ९२ रनको इनिङ्स खेले ।
यस्तै क्विन्टन डी ककले ८० रनको इनिङ्स खेल्दा रस्सी भान डेर डुसेनले ६० रन बनाए ।
डेभिड मिल्लरले अविजित रहदै ५० रनको इनिङ्स खेल्दा एडिन मार्क्रमले ३९ रन बनाए ।
पाकिस्तानका हरिस राउफले ३ विकेट लिए ।