काठमाडौं । विभागीय टिम नेपाल एपीएफ क्लबले पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा प्रदेश-१ लाई ८ विकेटले पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
प्रदेश-१ ले दिएको १ सय ७ रनको एपीएफले १८ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।
एपीएफको जितमा सिता राना मगरले अर्धशतकीय इनिङ्स खेलिन् । सिताले अविजित रहदै ५२ रन बनाईन ।
यस्तै ज्योति पाण्डेले ३२ रन जोड्दा सरिता मगरले ६ रन जोडिन । इन्दु बर्मा ८ रनमा अविजित रहिन् ।
प्रदेश-१ की रुबिना क्षेत्री र संगीता राईले १/१ विकेट लिईन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
प्रदेश-१ का लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ४५ रन जोडिन । यस्तै रोमा थापाले ३३ रन जोडिन ।
अप्सरी बेगम सुन्य रनमा आउट हुँदा काजल श्रेष्ठले ५ रन जोडिन । निग्मा तामाङ ७ र निशा साह ५ रनमा अविजित रहिन् ।
एपीएफका रेखा रावल, करुणा भण्डारी, सिता राना मगर र बिन्दु मगरले १/१ विकेट लिईन् ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको विजेताले ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५० हजार पाउने क्यानले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५/१५ हजार पाउने छन् ।
तस्बिरहरु-क्यान