काठमाडौं । बंगलादेशमा साफ च्याम्पियनसिप चलिरहेको थियो । उनका आखाँ टिभीमा एक टक अडिएका हुन्थे । नेपालले गोल गर्दा खुसीले गद्गद हुन्थे । खेल बिग्रदा मुर्मरिन्थे ।
सामाजिक सञ्जारमा उनी देखिनै छाडेका थिए । प्रशंसकहरु खेलका बारेमा जिज्ञासा राख्थे, स्वास्थ्य स्थिती बुझ्थे । उनी निशब्द जस्तै हुन्थे । खुट्टाको शल्यक्रिया गरेर उनी आराम गरिरहेका थिए । चोटकै कारण उनले साफ खेल्ने मौका गुमाएका थिए ।
उनी अरु कोही नभएर राष्ट्रिय टिमका भरपर्दा मिडफिल्डर बिक्रम लामा थिए ।
गत बर्षको अन्तिम अन्तिम तिरको कुरा हो । बुढासुब्बा गोल्डकपको उपाधि भिडन्तमा थ्रीस्टार र पुलिस उत्रिएका थिए । खेल सुरु भएको २७ औ मिनेटमा बिक्रम विपक्षी खेलाडीसंग ठोक्किन पुगेका थिए । जाँचेर हेर्दा उनको दाहिने खुट्टै भाँचिएको देखियो ।
तत्काल उनलाई धरान, विराटनगर हुँदै काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना गरियो । डा. चक्रराज पाण्डेको टिमले बिक्रमको सफल शल्यक्रिया गर्यो ।
सो खेल थ्रीस्टारले जित्यो । तर चोट बोकेका बिक्रमले करिब ७ महिना फुटबल छाड्नुपर्ने भयो ।
करिब दश बर्ष अगाडी ढाडको शल्यक्रियाले तीन बर्ष फुटबलबाट बिश्राम लिएका बिक्रमले फेरी ७ महिना फुटबलबाट फुर्सद पाए ।
‘डाक्टरले पाँच महिनामा कसरत गर्न सक्छौ भनेका थिए । तर मैले तीन महिनामै सामान्य कसरत गर्न सक्ने भए । चार महिनामा त जिमनै गर्न थाले । पाँच महिनाको समयमा फुटबल समेत चलाउन थाले । अहिले अन्तिम महिनामा आउदाँ सुटिङ हान्न सुरु गरेको छु ।’ हालैको भेटमा फुरुङ्ग हुदै बिक्रमले भने ।
‘अट्याकिङ मिडफिल्ड’ नेपाली फुटबलको सदाबहार समस्या हो । राष्ट्रिय टिममा रहदाँ बिक्रमले केही समय यसको भरथेग गरे । समकालिन नेपाली फुटबलका राम्रा मिडफिल्डर हुन्, उनी । नेपालले जितेको बंगबन्धु, सोलिडारिटी र साग फुटबलको सफलताको एउटा हिस्सा पनि ।
टिमका लागि मैदानमा सतप्रतिशत नतिजा दिने खोज्ने खेलाडीको रुपमा उनी चिनिन्छन् । प्रष्ट बक्ता र शालिन व्यक्तित्वको रुपमा चिनिने बिक्रमले पछिल्ला सात महिना फुटबललाई कति सम्झिए त ?
‘चोटले म के हुँ, केसंग मेरो लगाव र माया छ भन्ने महशुश गरायो ।’ उनले सिधा यस्तो छ ।
‘पछिल्ला सात महिना जिवनको निकै सकसपुर्ण दिन बनेर बस्यो । फुटबललाई धेरै मिस गरे ।’ उनी भन्छन्, ‘खुट्टा भाँचिएको दिन खेलमा फर्कन सक्छु भन्ने लागेको थियो । लामो समय हुदाँ चिन्ता समेत लागेको थियो । तर फुटबलमा कुनैपनि हालतमा फर्कन्छु भन्ने अठोट थियो ।’
खुट्टा भाँचिएपछि एक मनले उनलाई फुटबल छाडौ भन्ने नलागेको होइन । किनकी खुट्टा भाँचिनु फुटबलको सबैभन्दा ठुलो चोट हो । धैरेले यसलाई खेलाडीको करियर अन्त्य गर्ने चोट समेत भन्छन् । तर बिक्रम आफ्नालागि भन्दा पनि भावी पुस्ताकालागि आफु मैदान फर्कने हिम्मत राखेको बताउछन् ।
‘मेरो र व्यक्तिगत सफलता भन्दा पनि आउँदो पुस्ताकालागि म फुटबलमा फर्कन चाहेको हुँ । यति गम्भिर चोट लाग्दा समेत नेपालमा खेलाडी मैदान फर्कन सक्छ भन्ने सन्देश दिन आवश्यक थियो ।’ उनी भन्छन्, ‘नेपालमा धेरै राम्रा खेलाडी चोटका कारण हराए । उपचार नपाएर कतिको करियर सकियो । तर देशलाई राम्रो फुटबल खेलाडीको खाँचो छ भन्ने लाग्छ ।’
यो बिचमा फुटबललाई धेरै मिस गरेको बिक्रम सम्झन्छन् ।
‘प्रतियोगिता खेल्न मिस गर्दिन थिए । फुटबल खेल्न मिस गर्थे । ट्रेनिङ्ग गर्न ,बल हान्न मिस गर्दथे ।’ उनले भन्छन् ।
पछिल्ला ७ महिनामा बिक्रमले फुटबललाई मात्र मिस गरेनन् । आफ्नो खुसी र सुख समेत चिन्ने मौका पाए । आफ्ना भावना केलाउन मौका पाए । जिवनको महत्व र दृष्टिकोणलाई आत्मसाथ गर्ने समय पाए ।
‘आज आएर कति भाग्यमानी रहेछु भन्ने महशुश हुन्छ । कारण, चाहेको र मन परेको चिज खेल्न पाएको रहेछु । माया गरेको रहेछु । फुटबललाई नजिकबाट चिन्दो रहेछु । यसैमा रमाउदो रहेछु । मेरो जिवनमा फुटबल सबैभन्दा ठुलो रहेछ भन्ने सिक्न पाए ।’ उनी खुल्छन् ।
भाग्यको कुरा, चोट बोकेपछि बिक्रमलाई अरु खेलाडी जस्तो सहयोगकालागि भौतारिनु परेन । बेलायतबाट नवल गुरुङले आड भरोसा देखाए । खेलाडी थलिएपछि प्राय क्लब पन्छिन खोज्छन् तर थ्रीस्टार निरन्तर साथमा रह्यो ।
प्रशिक्षक मेघराज केसीले प्रेरणा भर्ने काम गरिरहे । बिक्रम अब थप चेक जाँचका लागि बैंकक जादैछन् ।
‘कुन बेला गएर बल हानौ भएको छ । एकदमै बलियो महशुश भएको छ । फुटबल हेर्दा खुट्टा चिलाउछ । बल मात्र हान्न पाए जस्तो हुदो रहेछ,’ बिक्रम भन्छन् ।
फुटबलमा भिजिसकेपछि यसबाट टाढिनु जत्तिको ठुलो पिडा खेलाडीलाई अरु केही नहुने उनको अनुभव छ ।
यस्तै अनुभव उनलाई ६४ सालमा भएको थियो । जावलाखेल छाडेर भर्खरै उनी थ्रीस्टार आएका थिए । अभ्यासको क्रममा उनको ढाड सर्किएको थियो । पछि त्यो बल्झियो, अप्रेसनै गर्न पर्यो । तीन बर्षपछि बल्ल उनी मैदानमा देखिन पाए ।
उनी भन्छन्, ‘त्यसबेला उमेर सानै थियो । फुटबल र जिवनबारे खासै चासो थिएन । तर परिपक्कताले हरेक घटनाको चोट फरक हुँदो रहेछ । फुटबल के हो भन्ने अहिले महशुश गदैछु ।’
पछिल्लो चोटले बिक्रमलाई धेरै सिकएको छ, उनको भावले त्यही भन्छ । नेपाली खेलाडीमा चोट बोकेपछि एकप्रकारको निराशा छाउछ । करियर सकियो भन्ने चिन्ता बढ्छ । पुर्नस्थापना केन्द्रमा बसेर खेलमा फर्कने खेलाडीलाई कुनै निश्चित ठाउँ छैन ।
‘म राष्ट्रिय हुँ, राष्ट्रकालागि खेलेको छु । मेरो क्लब ठुलो छ । मैले राम्रो उपचार पाए । तर साना क्लबका खेलाडी र राष्ट्रिय टिम बाहिरका खेलाडीमा राज्यको नजर पुग्न सक्दैन, गाह्रो अवस्था छ । साना खेलाडीको केन्द्रसम्म पहँुच नहुन सक्छ । फुटबलका सरोकारवाला निकायले यसमा ध्यान दिनपर्छ ।’ बिक्रम भन्छन् ।
उनी अब केही हप्तामा मैदान फर्कदैछन् । सायद चार बर्षपछि सुरु हुन लागेको ए डिभिजन लिगमा उनी थ्रीस्टारको जर्सीमा मैदान फर्कदैछन् ।
करिब ६ महिनाको बिश्रामपछि मैदान फर्कन लागेका बिक्रम फुटबल खेल्न कत्तिको उत्साहित छन् त ?
‘पछिल्ला महिनाहरुले खेलमात्र सिकाएन, जिन्दगी समेत सिकायो । फुटबलले जिवन अर्थ बुझाएको छ । अब अर्थपुर्ण जीवनलाई फुटबलमा दृढताकासाथ समर्पित गर्न चाहन्छु ।’