एजेन्सी । विश्वकपमा सर्वाधिक सफल टिम हो, ब्राजिल । ब्राजिलले पाँच पटक विश्वकपको उपाधि जितेको छ ।
दक्षिण अमेरिकी राष्ट्र ब्राजिल २१ औं संस्करणको विश्वकपमा सहभागी हुन् रुसको यात्रामा छ । र, ब्राजिल रुस विश्वकपबाट अर्को इतिहास कोर्न चाहन्छ । ब्राजिलले विश्वकपको पहिलो खेलमा आज राति बलियो युरोपियन राष्ट्र स्विजरल्याण्डविरुद्ध खेल्दैछ । जसमा ब्राजिलको लक्ष्य हुनेछ, पहिलो खेलमा ३ अंक जोड्दै नयाँ इतिहासको यात्रालाई बाटो देखाउनु ।
ब्राजिलले सन् २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन । तर, ब्राजिल १६ बर्षपछि विश्वकपको उपाधि जित्न चाहन्छ । ब्राजिलको उपाधि यात्रामा हुनेछन्, स्टार स्ट्राइकर नेयमार । ब्राजिलसँग युवा स्टारहरुको बाहुल्यता छ । तर, भरोषा नेयमारमा हुनेछ । उनको प्रदर्शनमा ब्राजिलको अर्को ऐतिहासिक यात्राको टुंगो लाग्ने छ ।
क्लब फुटबलमा बोकेको चोटको कारण नेयमार पहिलो रोजाईमा पर्ने नपर्ने दोधारमा छ । तर, दुई अभ्यास खेलमा दुई गोल गर्दै नेयमारले आफुलाई प्रमाणित गरिसकेका छन् । त्यसैले ब्राजिलले स्विजरल्याण्डविरुद्ध नेयमारलाई मुख्य हतियार बनाउने छ ।
यता, स्विजरल्याण्ड ब्राजिललाई रोक्दै आफु अघि बढ्न चाहन्छ । विश्वकपमा प्लेअफबाट आएपनि युरोपियन लिगमा अभ्यस्त खेलाडीको साथ छ, स्विजरल्याण्डलाई । स्विजरल्याण्डले पछिल्ला खेलेका २२ खेलमा एक मात्र पराजय बेहोरेको छ । त्यसैले पनि स्विजरल्याण्ड आत्मविश्वासी हुनेछ ।
ब्राजिललाई चुनौती दिन स्विजरल्याण्डको मुख्य हतियार हुनेछन् , ग्रानिट जाका । जाकाको प्लेमेकर भूमिकाले ब्राजिलियन डिफेन्सलाई रोक्न हम्मे हम्मे पर्नेछ । त्यति मात्र हैन, जाकासँग गोल गर्ने सुन्दर कला पनि छ ।
प्लेयर्स टु वाच :
नेयमार ( ब्राजिल )
विश्व फुटबलका महंगा खेलाडी हुन्, नेयमार । र, रुस विश्वकप भर ब्राजिलले नेयमारलाई मुख्य हतियार बनाउने छन् ।
युवा खेलाडीको बाहुल्यता रहेको ब्राजिलको मुख्य हतियार अग्रपंक्ति हो । उक्त अग्रपंक्तिको नेतृत्व उनै नेयमारले गर्ने छन् । २६ बर्षिय यी स्ट्राइकर ब्यवसायीक फुटबल जर्मन क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट खेल्ने गर्छन ।
यसै सिजन पेरिस पुगेका नेयमारले २० खेलमा १९ गोल गरेका थिए । च्याम्पियन्स लिगको ७ खेलमा नेयमारले ६ गोल गरेका थिए । तर, सिजन नसकिदै खुट्टाको चोटको कारण करिब ५ महिना मैदान बाहिर रहेका नेयमार विश्वकपबाटै खेलमा फर्कन लागेका हुन् ।
ब्राजिलको टोलीबाट ८५ खेल खेलिसकेका नेयमारले ५५ गोल गरिसकेका छन् ।
ग्रानिट जाका ( स्विजरल्याण्ड)
विश्वकप फुटबलकै सफल टिम ब्राजिलविरुद्ध स्विजरल्याण्डका मुख्य खेलाडी हुन्, ग्रानिट जाका । जाका स्विजरल्याण्डका अनुभवी खेलाडी पनि हुन् ।
मिडफिल्डमा निकै जम्ने जाकाकै कारण स्विजरल्याण्डले ब्राजिलको डिफेन्सलाईन तोड्न सक्ने विश्वास गरिएको छ । स्विजरल्याण्डको मुख्य हतियार र बलियो पाटो भनेकै मिडफिल्ड हो ।
२५ बर्षीय यी मिडफिल्डर ब्यवसायीक रुपमा इङ्लिस प्रिमीयर लिग क्लब आर्सनलबाट खेल्ने गर्छन् । यो सिजन जाकाले लिगमा ३८ खेल खेल्दै एक गोल गरेका थिए ।
जाकाले स्विजरल्याण्डबाट ६२ खेल खेलिसकेका छन् । जसमा उनले ९ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् ।