महिला लिग : नयाँ खेलाडीको आगमन

काठमाडौं । कोरोना महामारी, त्यसपछि फर्किएको फुटबल । कस्तो हुन्छ ? सबैको सोचको विषय थियो ।
सरकारले खेलकुद गतिविधि सुरु गर्न अनुमति दिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला फुटबललाई प्राथमिकतामा राख्यो ।
कोरोनाकै कारण सहभागी टोलीले राम्रो तयारी गर्न पाएका थिएनन् । चोटको डरसँगै प्रदर्शन कस्तो हुने हो ? महिला खेलाडीलाई एक प्रकारको चुनौती रहेको थियो ।
तर, पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना भएको महिला लिग सफलतापूर्वक सम्पन्न भयो ।
लिगको उपाधि अपराजित रहदै विभागीय टिम एपीएफले जित्यो । लिगमा १ गोलमात्रै व्यहोरेको एपीएफले कुल १२ खेलमा ७७ गोल गर्याे ।
एपीएफको शतप्रतिशत जितमा स्ट्राइकर सावित्रा भण्डारी एक्लैले १० खेल खेल्दै ४३ गोल गरिन् ।
लिगमा सहभागी सबै क्लबले १२ खेल खेले । उपाधि जित्ने क्रममा एपीएफले ३६ अंक जोड्यो ।
अर्को विभागीय टिम त्रिभुवन आर्मी आर्मीले २६ अंक जोड्दै दोस्रो स्थान हासिल गर्यो । आर्मीले विपक्षीको पोस्टमा ६३ गोल गर्दा ७ गोल व्यहोरेको थियो ।
नेपाल पुलिस क्लब १८ अंक सहित तेस्रो स्थानमा रह्यो । ४ क्यामरुन खेलाडीसहित मैदान उत्रिएको वालिङ नगरपालिका १७ अंक बनाएर चौथो स्थानमा रह्यो ।
भारतीय यू–१७ टोलीकी सदस्य आशा कुमारीको रक्षापंक्तिमा राम्रो साथ पाएको विराटनगर महानगरपालिका १७ अंक सहित पाचौं स्थानमा रह्यो ।
रौतहटको चन्द्रपुरले भने सोच अनुसार प्रदर्शन दिन सकेन । विभागलाई टक्कर दिँदै आएको चन्द्रपुरले यस पटक १२ गोल गर्दै ४९ गोल व्यहोर्दै ९ अंक सहित अन्तिमबाट दोस्रो स्थान हासिल गर्यो ।
महिला लिगमा खराब प्रदर्शन गर्ने एक मात्रै टोली रह्यो उदयपुरको चौदण्डीगढी नगरपालिका । उसले प्रतियोगिता भर एक अंक पनि जोड्न सकेन । जम्मा ४ गोल गरेको उसले १ सय ६ गोल व्यहोर्यो । उसले सर्वाधिक एपीएफसँग २४ गोल व्यहोरेको थियो ।
पहिलो पटक नयाँ ढाँचामा महिला लिग आयोजना गरेको एन्फाले पहिलो पटक महिला टिमलाई विदेशी खेलाडी राख्न दिने निर्णय लियो । सोहि अनुसार विभाग र चन्द्रपुर नगरपालिका (रौतहट) बाहेक अन्य टोलीले विदेशी महिला खेलाडी सहभागिता गराए ।
वालिङले क्यामरुनका ४ विदेशी खेलाडी भित्राउँदा विराटनगर र चौदण्डीगढीले ४–४ भारतीय खेलाडी समावेश गराए । र समग्रमा विदेशी खेलाडीको प्रदर्शन उच्चनै रह्यो ।
लगातारको खेल तालिका बाबजुद सम्पूर्ण टोली लिग खेल्न तयार थिए । सुरुवाती चरणबाट क्लबहरुले खेलाडी चोटको समस्या झेल्नुपर्यो । जुन अन्तिमसम्म रह्यो । लिगको आफ्नो दोस्रो खेलमै चोट बोकेकी राष्ट्रिय टोलीकी सदस्य तथा एपीएफकी हिरा भुजेल र चन्द्रपुरबाट खेलेकी यू-१९ टोलीका सदस्य सम्झना घिमिरे प्रतियोगिता भर 'रिकभरी' हुन सकेनन् ।
लिगकै अन्तिम दुई खेल हुँदा एपीएफकै स्ट्राइकर तथा राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी (सावित्रा) ले जीवनकै सबैभन्दा ठुलो चोट बोक्नुपर्याे । घुँडाको एसीएल च्याँतिदा सावित्रा करिब १ वर्ष मैदान बाहिर रहने भएकी छिन् ।
चोटको समस्या एपीएफलाई मात्रै परेको पक्कै हैन । पुलिस, वालिङ, चन्द्रपुर र चौदण्डीगढीले सबैभन्दा बढि चोटको सामना गर्नुपर्याे । चन्द्रपुर र चौदण्डीलाई सबैभन्दा बढी घाटानै चोटले दियो । चौदण्डीले चोटकै कारण एकै खेलमा तीन गोलरक्षक समेत परिवर्तन गर्नुपर्याे र स्ट्राइकर अन्जना थुलुङलाई गोलरक्षकको जिम्मेवारी दिनुपर्याे ।
चोट, निकैनै ब्यस्त खेल तालिका, म्यानेजर मिटिङ र म्याच कमिस्नरको केहि त्रुटि बाहेक यस पटकको लिग सफल रह्यो ।
डबल राउण्ड रोबिनको आधारमा भएकाले यस पटक महिला खेलाडीले धेरै खेल खेल्न पाए । खेलाडीलाई आफुलाई चिनाउने अवसर चाहिएको थियो । यस पटक खेलाडीले त्यो धोको पूरा गरे ।
खेलाडीसँगै महिला रेफ्रीलाई पनि लिगले केहि फाइदा भयो । यस पटक एन्फाले महिला रेफ्रीलाई नै प्राथमिकतामा राख्यो । यस पटक एन्फाले महिला लिगका लागि १३ रेफ्रीलाई अवसर दियो । जसमा दुई मात्रै पुरुष रहेका थिए ।
अन्य लिग भन्दा यस पटक पृथक के रह्यो भने युवा तथा नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्न सफल भए । लिगबाट धेरै नयाँ खेलाडीको आगमन भएको छ । उनीहरुले राष्ट्रिय टिमबाट खेल्ने सम्भावना देखिएका छन् ।
लिगमा १४ वर्षकी कान्छी खेलाडी कुशुम खतिवडाले निकै चर्चा पाईन् । विराटनगर महानगरपालिकाकी कुशुमले चौदण्डीगढीविरुद्ध ह्याट्रिक समेत गरिन् । कुशुमले प्रतियोगितामा ४ गोल गरिन् ।
पछिल्लो समय यू–१५ टोलीबाट खेलेकी वालिङकी गोलरक्षक सावित्री किशन, डिफेन्डर मनमाया दमाई, पुष्पा गुरुङले उत्कृष्ट प्रदर्शन गरिन् ।
चोटका बाबजुद पनि चौदण्डीगढी गोलरक्षक देविका श्रेष्ठले आफुलाई प्रमाणित गरिन् ।
विराटनगरबाट खेलेकी मिडफिल्डर अनु राई, पार्वती घले, शरिता शेर्पा उमेर समूहको टिममा पर्ने सक्ने सम्भावना देखिएको छ ।
एपीएफ तथा नेपाल यू–१६ की कप्तान समेत रहेकी प्रिती राई, सुस्मा तामाङ लगायतले पनि लिगमा आफुलाई प्रमाणित गरे ।
यता, उमेर समूहबाटै आएकी आर्मीका बिमल विक, रश्मी कुमारी घिसिङ, चन्द्रपुरकी मिडफिल्डर सविता राना मगर, रोजिना श्रेष्ठ लगायतले राष्ट्रिय टोलीसम्म पुग्ने छाटकाट देखाएका छन् ।
राष्ट्रिय महिला फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक हरि खड्का केहि त्रुटिलाई छाडेर यस पटकको लिग सफल भएको बताउँछन् ।
खेलाडीको प्रदर्शनसँगै आउने दिनमा उमेर समूह देखि राष्ट्रिय टोलीसम्म प्रतिस्पर्धा बढ्नेमा हरि आशाबादी छन् ।
‘समग्रमा भन्दा यस पटकको लिग राम्रो रह्यो । केहि कमीकमजोरी पक्कै भए । यसलाई मिलाएर अगाडी बढ्छौं । प्रतिस्पर्धासँगै यस पटकको लिगमा नयाँ खेलाडीको आगमन पक्कै भएको छ र उमेर समूह देखि यसले राष्ट्रिय टोलीसम्म निकैनै प्रतिस्पर्धा बढाउनेछ,’ एन्फाको महिला बिभाग प्रमुख समेत रहेका खड्काले भने ।
राखेप बोर्ड सदस्य समेत रहेका प्रशिक्षक खड्का खेल तालिका, सहभागी टोली देखि लिएर पूर्वाधारसँगै लिगमा देखिएका कमिकमजोरीलाई सच्चाउँदै आगामी वर्ष केहि नयाँ तरिकाले लिग लिएर आउने बताए ।
‘कोरोनाको कारण एन्फाको ब्यस्त तालिका छ । त्यसले गर्दा पनि लिग चाडो सकाउन बाध्य भयौं । एउटै मैदानमा प्रतियोगिता भए । क्लबहरुले तयारी राम्रो सँग गर्न पाएनन् । लगातार खेलले चोट बोक्न पर्याे । अर्काे वर्ष कम्तिमा तिन महिनाको लिग सहित टोलीसंख्या समेत बढाउने तयारी गरिरहेको छौं ।’
महिला लिगमा सर्बाधिक गोल गर्ने खेलाडी -
सावित्रा भण्डारी - ४३ (एपीएफ)
शर्मिला थापा - १८ (आर्मी)
मेथो रुथ - १६ (वालिङ, क्यामरुन)
रश्मी घिसिङ - १६ (आर्मी)
विमल चौधरी -१० (आर्मी)
अनिता बस्नेत - ८ (एपीएफ)
निरु थापा - ७ (पुलिस)
निमर्ला बिक - ६ (पुलिस)
अनिता केसी - ५ (एपीएफ)
तस्बिर - रमेश सुवेदी/खेलपाटी