बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'ए' डिभिजनमा एमसीसीले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा मंगलबार सैनामैना क्रिकेट क्लबलाई १ सय ८ रनले पराजित गर्दै एमसीसीले सुखद सुरुवात गरेको हो ।
एमसीसीले दिएको १ सय ९३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सैनामैना २७ ओभर ५ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।
सैनामैनाका लागि मनिस क्षेत्रीले सर्वाधिक २५ रन बनाए । सुनिल पौडेल १६ रनमा अविजित रहे ।
एमसीसीका सन्तोस यादवले ४ विकेट लिए । मोहमद हुसेन र रमेश कुर्मीले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको एमसीसीले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो ।
एमसीसीका लागि प्रियान्सु श्रेष्ठले ५६ रनको अर्धशतकीय इनिङ्स खेले । विशाल मौर्याले ४१ रन बनाए ।
सैनामैनाका सुनिल पौडेलले ३ विकेट लिए ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ ।