काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको मिति सार्वजनिक भएको छ ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको मिति अनुसार प्रतियोगिता जुलाई २१ बाट सुरु हुनेछ । पहिलो दिन महिलाको खेल हुनेछ ।
जुलाई २२ बाट भने पुरुषको खेलहरु सुरु हुनेछ ।
प्रतियोगिताको फाइनल लर्ड्समा अगस्ट २१ मा हुनेछ ।
पहिलो खेलमा ओभल इन्भेन्सीबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ ।
एक सय बलको हुने प्रतियोगिता २०२० मा हुने तालिका रहेको थियो ।
तर, कोरोनाको कारण प्रतियोगिता एक वर्ष स्थगित भएको थियो ।
प्रतियोगितामा नेपालका सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् ।
सन्दीपलाई इन्भेन्सीबल्सले 'रिटेन' गरेको थियो ।
सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।
प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।