बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेटको 'बी' डिभिजन अन्तर्गत आइतबार सैनामैना क्रिकेट क्लबले जित निकालेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा सैनामैनाले प्रोफेसनल मास्टर्स ११ लाई ७ विकेटले पराजित गरेको हो ।
सैनामैनाको यो लगातार दोस्रो जित हो । जितसँगै सैनामैना डिभिजन 'ए' मा प्रवेश गरेको छ ।
पहिले ब्याटिङ गरेको प्रोफेसनलले २९ ओभर २ बलमा अलआउट हुँदै ९१ रन बनाएको थियो । प्रोफेसनलका सुजन मकाजुले २८ र अमर रसाइलीले २४ रन बनाए । सैनामैनाका उदय पन्तले २५ रन खर्चेर ५ विकेट लिए ।
प्रोफेसनलले दिएको सामान्य लक्ष्य सैनामैनाले १९ ओभर ४ बलमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।
सैनामैनाको जितमा सरोज पौडेलले अविजित ४१ रन बनाए । यस्तै अंकित परियारले १६ रन बनाए ।
प्रोफेसनलका अनिल जैसवारले २ विकेट लिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।