एजेन्सी । पाहुना टिम वेस्ट इन्डिजले बंगलादेशविरुद्धको दुई खेलको टेस्ट सिरिज जितेको छ ।
ढाकामा आइतबार दोस्रो टेस्टमा बंगलादेशलाई १७ रनले पराजित गर्दै वेस्ट इन्डिजले सिरिज २-० ले आफ्नो बनाएको हो ।
बंगलादेश भ्रमणमा रहेको वेस्ट इन्डिजले पहिलो टेस्टमा ३ विकेटको जित निकालेको थियो ।
वेस्ट इन्डिजले दिएको ३ सय ३१ रनको लक्ष्यसहित ब्याटिङ थालेको बंगलादेश दोस्रो इनिङ्समा २ सय १३ रन जोड्दा अलआउट भयो ।
बंगलादेशका लागि तमिम इकबालले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै मेहदी हसन मिराजले ३१ रन जोड्दा कप्तान मोमिनुल हकले २६ रन बनाए ।
वेस्ट इन्डिजका राकिम कोर्नवालले ४ विकेट लिए ।
यस अघि वेस्ट इन्डिज दोस्रो इनिङ्समा १ सय १७ रन जोड्दा अलआउट भएपछि बंगलादेशले मध्यम लक्ष्य पाएको थियो ।
दोस्रो इनिङ्समा वेस्ट इन्डिजका एनकुर्माह बोनरले सर्वाधिक ३८ रन बनाए । यस्तै जोसुवा डा सिल्भाले २० रन जोड्दा जोन क्याम्पबेलले १८ रन बनाए ।
बंगलादेशका ताइजुल इस्लामले ४ तथा नियम हसनले ३ विकेट लिए ।
पहिलो इनिङ्समा वेस्ट इन्डिजले ४ सय ९ रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि जोसुवा डा सिल्भाले ९२ रनको अर्धशतकीय इनिङ्स खेल्दा एनकुर्माह बोनरले ९० रन जोडे ।
यस्तै अल्जारी जोसेपले ८२ रन जोड्दा कप्तान क्रेग ब्रेथवेट ४७ रन तथा जोन क्याम्पबेलले ३६ रन बनाए ।
जेर्मिने ब्लाकउड २८ रनमा आउट भए ।
बंगलादेशका अबु जायद र ताइजुल इस्लामले ४/४ विकेट लिएका छन् ।
बंगलादेशले भने पहिलो इनिङ्समा २ सय ९६ रन बनाएको थियो ।
बंगलादेशका लिटोन दासले सर्वाधिक ७१ रन बनाए ।
यस्तै मेहदी हसन मिराजले ५७ रन जोड्दा मुस्फिकर रहमानले ५४ रन जोडे ।
तमिम इकबालले ४४ रन बनाए ।
वेस्ट इन्डिजका राकिम कोर्नवालले ५ विकेट लिए । शानोन ग्राबियलले ३ विकेट लिए ।