चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा 'फ्लड लाइट' जडान गरिने भएको छ ।
भरतपुरको शान्ति चोकस्थित बन्दै गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा 'फ्लड लाइट' जडान गरिने भएको हो ।
रात्रीकालीन क्रिकेट प्रतियोगिताको लागि रंगशाला निर्माण गर्दै आएको धुर्मुससुन्तली फाउन्डेसनले नमुना खेल मैदानमा 'फ्लड लाइट' जडान गर्ने तयारीमा जुटेको छ ।
करिब २० लाख अनुमानित लागतमा मैदानमा 'फ्लड लाइट' जडानको तयारी छ ।
’नमुना खेल मैदानमा अब 'फ्लड लाइट' जडान गर्ने तयारीमा छौं । रात्रीकालीन क्रिकेट प्रतियोगिताको आयोजना गराउन सक्ने गरी 'फ्लड लाइट' हाल्ने तयारी गरेका छौं ।’ फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले खेलपाटीसंग भने ।
स्तरीय स्तरको 'फ्लड लाइट' जडान गर्दै नेपालको नमुना खेल मैदानको रुपमा विकास गर्ने फाउन्डेसनको उद्धेश्य रहेको छ । लाइट जडानको लागि एक महिना लाग्ने छ । यस्तै लाइटको काम छिटै सुरु गर्ने तयारीमा छ ।
फागुनमा लाइट जडान गर्दै चैतमा रात्रीकालीन रुपमा दोस्रो संस्करणको चितवन प्रिमियर लिग आयोजना गर्ने तयारी छ ।
निर्माणाधीन मुख्य रंगशालाको परिसर भित्र रहेको नमुना खेल मैदानमा राष्ट्रिय स्तरको घरेलु प्रतियोगिता नियमित रूपमा हुँदै आएको छ ।