काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जनाएको छ ।
कोरोनाको बढ्दो प्रभावको कारण क्वारेन्टिनको प्रावधान र भ्रमण कडाइको कारण अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित भएको क्यानले जनाएको छ ।
ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।
यस्तै आईसीसीले अप्रिल र मेमा तय भएको पीएनजी, ओमान र स्कटल्याण्ड तथा पीएनजी, अमेरिका र नामिबियाबीचको सिरिज पनि स्थगित गरेको छ ।
सिरिजका लागि नेपालले टियु क्रिकेट मैदानमा प्रशिक्षण समेत सुरु गरिसकेको थियो ।
मुख्य प्रशिक्षक डेभ वाटरको नेतृत्वमा नेपाली टिमले तयारी सुरु गरेको हो ।
अब दोस्रो चरणको प्रशिक्षण शनिबारबाट सुरु हुनेछ ।
लिग अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।
लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ ।
ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।