बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा गोलपार्क क्रिकेट क्लबले विजयी सुरुवात गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा बिहीबार भएको खेलमा गोलपार्कले बुटवल युथलाई ६६ रनले पराजित गर्यो ।
गोलपार्कले दिएको २ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवल ३३ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४१ रनमा समेटियो ।
बुटवलका लागि सुजन गौतमले ३१ रन जोड्दा सुमन थापा क्षेत्रीले २७ रन जोडे ।
गोलपार्कका दिवन पुनले ५ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको गोलपार्कले ३९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ७ रन बनाएको थियो ।
उसका रिक्की पुनले ४५ रन जोड्दा विनोद रनपालले ३३ रन बनाए ।
दिवन पुनले ३१ तथा हेमन्त ओलीले २८ रन बनाए ।
बुटवलका विनित पौडेलले ४ विकेट लिए ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
विजेता टोलीले ए डिभिजन खेल्नेछ ।