एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकप फुटबलमा आइसल्याण्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसक्नु आफ्नो लागि पीडादायी क्षण रहेको बताएका छन् ।
शनिबार राति आइसल्याण्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुकेपछि मेस्सीले आफुलाई पीडा भएको बताएका हुन् । मेस्सीले भने, 'यसले खेलको खाका परिवर्तन गर्यो । त्यो हाम्रो लागी फाइदा थियो । मैले पेनाल्टी खेर फाले, पक्कै पनि,मलाई पीडा भयो ।'
स्पार्टक रंगशालामा पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, खेलको ६४ औं मिनेटमा मेस्सीले प्रहार गरेको बल आइसल्याण्डका किपर हानेस हाल्डरसनले उत्कृष्ट बचाऊ गरेका थिए ।
आफ्नो पुस्ताकै अर्का उत्कृष्ट खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेको भोलिपल्ट मेस्सीले पेनाल्टीमा गोल गर नसकेका हुन् । रोनाल्डोले स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए ।
मेस्सीले आइसल्याण्डविरुद्ध अर्जेन्टिना ३ अंकको लागि हकदार रहेको समेत बताए । यस्तै उनले जितबाटको सुरुवात सधै महत्वपूर्ण रहने बताउदै अब क्रोएसियासंगको खेलमा ध्यान दिनुपर्ने बताए ।
अर्जेन्टिनाले दोस्रो खेलमा आगामी बिहिबार क्रोएसियासँग खेल्ने छ । क्रोएसियाले भने विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा क्रोएसियाले नाइजेरियालाई २ – ० ले हराएको थियो ।