काठमाडौं । नेपाली युवा अलराउण्डर कुशल मल्ल आबद्द टिम आबुधाबीले टी-१० क्रिकेट लिगमा तेस्रो स्थान हासिल गरेको छ ।
शनिबार भएको तेस्रो स्थानको प्ले अफमा कलन्दर्सलाई २१ रनले पराजित गर्दै आबुधाबीले तेस्रो स्थान हासिल गरेको हो ।
आबुधाबीले दिएको १ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कलन्दर्सले १० ओभरमा ५ विकेट गुमाएर १ सय ३ रन मात्र बनाउन सक्यो ।
कलन्दर्सका लागि डानिल बेलले सर्वाधिक ४६ रन बनाए । कप्तान सोहिल अख्तरले १७ तथा बेन डन्कले १३ रन बनाए ।
आबुधाबीका रोहन मुस्तफाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आबुधाबीले १० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।
आबुधाबीका लागि नाजिबउल्लाह जाड्रनले अविजित रहदै सर्वाधिक ४५ रन बनाए ।
यस्तै पाउल स्ट्रर्लिङले २६ रन जोड्दा लियोनार्दो जुलियनले १९ रन बनाए ।
डेब्यु खेलाडी कुशलले १२ बलमा १८ रन बनाए । कुशलले १ चौका १ छक्का प्रहार गरे ।
डेब्यु खेलमा उत्कृष्ट ब्याटिङ गरेका उनि मोहमद जाहिदको बलमा बोल्ड भए ।
आबुधाबीले कुशललाई अन्तिम खेलमा मौका दिएको हो ।
कलन्दर्सका मोहमद जाहिदले २ विकेट लिए ।
प्रतियोगिताको उपाधिको लागि भने दिल्ली बुल्स र नर्दन वारिवर्सबीच खेल हुनेछ ।