काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ ।
सन्दीपलाई ‘द हन्ड्रेड’ टिम ओभल इन्भेन्सीबल्सले 'रिटेन' गरेको छ । ओभलले ११ खेलाडी रिटेन गर्दा सन्दीप परेका हुन् ।
इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिताको नयाँ मिति भने तय भएको छैन ।
यस अघि गत जुलाईमा प्रतियोगिता आयोजना हुने तय थियो । एक सय बलको हुने प्रतियोगिता जुलाई १७ देखि १६ अगष्टसम्म हुने तय थियो ।
तर, कोरोना भाईरसको महामारीको कारण प्रतियोगिता स्थगित भएको थियो ।
सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो ।
प्रतियोगितामा ८ टिम रहने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।