काठमाडौं । फेब्रुअरी ३ अर्थात् आजको दिन ।
नेपाली क्रिकेटले सधै सम्झने दिन मध्येको एक दिन ।
किनकि नेपाली क्रिकेटले आजकै दिन एक ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।
सन् २०१९ को फेब्रुअरी ३ अर्थात् ठिक दुई वर्ष अगाडी आजकै दिन नेपालले ऐतिहासिक टी-ट्वान्टी क्रिकेट सिरिज जितेको थियो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाली टिम दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको थियो ।
युएईमा नेपाली टिमले घरेलु टोलिसँग एकदिवसीयसंगै टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो ।
सुरुवातमा नेपालले ३ खेलको एकदिवसीय सिरिज खेलेको थियो । जसमा नेपालले युएईमाथि २-१ को जित निकाल्दै ऐतिहासिक एकदिवसीय सिरिज जितेको थियो ।
एकदिवसीय सिरिज जितेपछि नेपालले युएईसँग ३ खेलकै टी-ट्वान्टी सिरिज खेल्यो ।
जुन सिरिज नेपालले २-१ ले नै जित्दै अर्को ऐतिहासिक सफलता पाएको थियो ।
सिरिज अन्तर्गत पहिलो खेल युएईले २१ रनले जितेको थियो ।
तर, दोस्रो खेल नेपालले ४ विकेटले जित्दै सिरिज १-१ को स्थितिमा ल्याएको थियो ।
यस्तोमा अन्तिम खेल निर्णायकको रुपमा रहेको थियो । उक्त खेल १४ रनले जित्दै नेपालले ऐतिहासिक सफलता हासिल गरेको हो ।
त्यसअघि नेपालले दुई राष्ट्रसँग टी-ट्वान्टी सिरिज खेलेपनि सिरिज जित्न सकेको थिएन ।
तर, नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको अन्तिम खेल वर्षाले प्रभावित गरेको थियो ।
वर्षाले प्रभावित भएपछि खेल १० ओभरमा झारिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ रन जोड्दा सन्दीप जोराले २८ रन बनाएका थिए । यस्तै बिनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रनमा आउट भए । सोमपाल कामी र पवन सर्राफ सुन्य रनमा आउट भए ।
युएईका मोहमद नाभिद र सुल्तान अहमेदले २/२ विकेट लिएका थिए ।
जवाफमा युएईले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
युएईका लागि शाइमन अनवरले सर्वाधिक ३० रन जोडे । यस्तै गुलाम सब्बिरले २५ तथा मोहमद बोताले ११ रन जोडे ।
नेपालका करण केसी, अविनास बोहरा र ललित नारायण राजवंशीले समान २/२ विकेट लिएका थिए ।
यस्तै सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिएका थिए ।