एजेन्सी । राष्ट्रिय क्रिकेट टिमको कतार भ्रमण अनिश्चित बनेको छ ।
टी–२० क्रिकेट प्रतियोगिताका लागि कतार जाने निश्चित गरिएको नेपाली टिमको भ्रमण अनिश्चित बनेको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले अघिल्लो साता राष्ट्रिय क्रिकेट टिमले कतारमा टी–२० क्रिकेट प्रतियोगिता खेल्ने निर्णय गरेको थियो । क्यानले सिनियर खेलाडीलाई आराम दिदै १८ सदस्यीय खेलाडीको बन्द प्रशिक्षण समेत आह्वान गरेको थियो ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता सम्पन्न हुने बित्तिकै बन्द प्रशिक्षण सुरु हुने तालिका रहेपनि खेलाडीहरु क्याम्पका लागि आएका छैनन् । बन्द प्रशिक्षणका लागि क्यानले कुनै जानकारी नदिएको खेलाडीले बताएका छन् ।
क्यानको माघ १३ गतेको बोर्ड बैठकलले कतार भ्रमणको निर्णय गरेको थियो । एक हप्ता बन्द प्रशिक्षणमा खेलाडीलाई समावेश गर्दै कतार लैजाने क्यानको तयारी थियो ।
तर, क्यानले कोभिड–१९ को कारण देखाउँदै भ्रमण अनिश्चित भनेको बताएका छ ।
‘कतारबाट पक्का कुरा आईसकेको छैन । आधिकारिक रुपमा कुरा गर्दैछौं । केही बेरमा टुङ्गो लाग्छ ।’ क्यानका महासचिव अशोकनाथ प्याकुरेलले खेलपाटीसंग भने ।
‘कतारले हिजोबाट कोभिडको केस बढेसंगै भ्रमणलाई कडाई गरेको छ । नजाने भन्ने कुरा हुँदैन । केही दिन स्थगित हुन सक्छ ।’ उनले भने ।
क्यानका एक अधिकारीका अनुसार नेपालले पूर्व निर्धारित तालिका अनुसार कतार भ्रमण नगर्ने भएको छ ।
क्यानको बोर्ड बैठकमा एक्कासी कतार भ्रमणको विषय छलफलमा आएर निर्णय भएको एक पदाधिकारी बताउँछन् । पर्याप्त गृहकार्य र छलफल बिनै कतार भ्रमणको निर्णय बैठकले पारित गरेको थियो । बैठकले सिनियर खेलाडीलाई आराम दिदै १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा समेत गरेको थियो ।
क्यानका कार्यसमिति सदस्य छुम्बि लामाले अनौपचारिक रुपमा भ्रमण स्थगित भएको जानकारी आफुले पाएको बताए ।
‘आधिकारिक जानकारी आएको छैन । कतार भ्रमण नहुने जानकारीमा आएको छ । ब्यवस्थापकीय हिसाबले यसमा संघको क्रुटि देखिन्छ ।’ उनले भने ।