काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक संकलन गर्ने उदेश्यले 'स्टार क्रिकेट-२०२१' प्रतियोगिताको आयोजना हुने भएको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालाको सहयोगार्थ 'स्टार क्रिकेट-२०२१' प्रतियोगिता हुने भएको हो ।
गृष्मा ब्रोडकास्टिङको आयोजनामा प्रतियोगिता माघ २४ गते हुनेछ । निर्माणाधीन रंगशाला नजिकै रहेको नमुना रंगशालामा खेल हुनेछ ।
प्रतियोगितामा नेपाली फिल्म, संगीत र खेलकुदका ४० भन्दा बढी सेलिब्रेटी सहभागी हुने छन् । उनीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
टिम धुर्मुस र टिम सुन्तलीको नाममा टिम विभाजन गरिएको छ ।
एक दिवसीय फर्म्याटमा हुने प्रतियोगितामा दयाहाङ राई, प्रमोद खरेल, सन्दीप क्षेत्री, दीपक विष्ट, श्रृंखला खतिवडा, बेनिशा हमाल, संगीना वैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, मन्देकाजी श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारीलगायतले क्रिकेट खेल्ने छन् ।
उक्त प्रतियोगिताबाट उठेको रकम फाउन्डेसनलाई प्रदान गरिनेछ ।
पछिल्लो समय आर्थिक अभाव झेल्नु परेको कारण रंगशाला निर्माणमा ढिलाई हुँदै आईरहेको छ ।
भरतपुर नगरपालिकाले उपलब्ध गराएको २० बिघा जग्गामा रंगशाला निर्माण भईरहेको छ । २०७५ साल माघ १६ गते महानगर र फाउण्डेशनबीच सम्झौता भएपछि रंगशाला निर्माण अघि बढेको थियो ।
रंगशाला नेपालको मौलिकता झल्कने गरि कमलको फुलको आकारमा निर्माण गरिनेछ । रंगशाला ३० हजार दर्शक क्षमताको हुनेछ ।