काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले दिएको २ सय १२ रनको लक्ष्यसहित एपीएफले जवाफी ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा आर्मीविरुद्ध ब्याटिङ गरिरहेको एपीएफका आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ६१ बलमा ५० रन पुरा गरेका हुन् ।
आसिफको उत्कृष्ट ब्याटिङसंगै एपीएफले २४ ओभरमा ३ विकेट गुमाएर १ सय ०७ रन जोडेको छ ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो।
आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे ।
मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोड्दा आउट भए ।
त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११/११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए ।
एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए ।
किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।