काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई जितका लागि २ सय १२ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनायो ।
आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले ।
राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे ।
मध्यम सुरुवात गरेका आर्मीका सुशन भारी र रोहित पौडेल समान १३/१३ रन जोड्दा आउट भए ।
त्यस्तै अनिल मण्डल र बिक्रम शोब समान ११/११ रनमा आउट हुँदा कप्तान विनोद भण्डारी ७ रन जोडेर पेभेलियन फर्किए ।
एपीएफका अविनास बोहोराले २ मेडनसहित २५ रन खर्चिएर ४ विकेट लिए ।
किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १/१ विकेट लिए ।
आज एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
एपीएफ अपराजित रहदै फाइनल पुगेको हो ।
सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो ।
आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
यस्तै प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।