काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेल भोलि (शनिबार) हुँदैछ ।
टियु क्रिकेट मैदानमा हुने फाइनलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपीएफ क्लब भिड्ने छन् । उपाधि भिडन्त बिहान ९ बजे सुरु हुनेछ ।
चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा आर्मी र एपीएफ उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछन् ।
त्यसैले विभागीय डर्बीबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।
हेड टु हेड कस्तो ?
पीएमको चार संस्करण सकिनै लाग्दा आर्मी र एपीएफबीच ३ पटक प्रतिस्पर्धा भएको छ । जसमा एपीएफ बलियो देखिएको छ ।
आर्मी र एपीएफबीच पहिलो पटक सन् २०१८ को समूह चरणमा भेट भएको थियो । जुन खेलमा आर्मीले ७० रनको जित निकालेको थियो ।
आर्मीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको एपीएफ अलआउट हुँदै १ सय ५८ रनमा समेटिएको थियो ।
दोस्रो भेटमा भने एपीएफले बाजी मारेको थियो । सन् २०१८ कै संस्करणको फाइनलमा आर्मी र एपीएफ भिडेका थिए ।
फाइनलमा एपीएफले आर्मीलाई ६ विकेटले हराएर उपाधि जितेको थियो । एपीएफले समूह चरणमा व्यहोरेको हारको बदला समेत लिएको थियो ।
पछिल्लो पटक यसै संस्करणको समूह चरणमा दुई टिमबीच प्रतिस्पर्धा भएको छ । त्यस खेलमा एपीएफले ६ रनको जित निकाल्यो ।
टियु क्रिकेट मैदानमा एपीएफले आर्मीलाई २ सय ४१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो ।
तर, शनिबार हुने फाइनलमा भने आर्मी एपीएफलाई हराएर उपाधि जित्न चाहन्छ । आर्मी लगातार चार संस्करण फाइनल पुग्ने एक्लो टिम हो ।
यस्तै समूह चरणमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
एपीएफ भने अपराजित रहदै च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।
एपीएफको फाइनल यात्रा -
समूह चरणमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
पहिलो खेलमा एपीएफले प्रदेश-१ लाई १ सय ३५ रनले हराएको थियो । यस्तै दोस्रो खेलमा गण्डकी प्रदेशलाई ६ विकेटले हराएको एपीएफले तेस्रो खेलमा कर्णाली प्रदेशलाई ७१ रनले हराएको थियो ।
समूह चरणको अन्तिम खेलमा आर्मीलाई ६ रनले हराएर एपीएफ समूह विजेता बनेको थियो ।
यस्तै सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३० रनले हराएको थियो ।
आर्मीको फाइनल यात्रा -
समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो ।
आर्मीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ९८ रनले हराएको थियो । यस्तै कर्णालीविरुद्ध ८० रनको जित निकालेको आर्मीले प्रदेश १ विरुद्ध ४ विकेटको जित निकालेको थियो ।
आर्मीले सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।
हालसम्मको विजेता -
सन् २०१७ - आर्मी र पुलिस संयुक्त विजेता
सन् २०१८ - एपिएफ विजेता, आर्मी उपविजता
सन् २०१९ - पुलिस विजेता, आर्मी उपविजेता
पीएम कपको पुरस्कार -
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
सेमिफाइनलमा पुग्ने टिमले ५०/५० हजार पाउने छन् ।
प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।