काठमाडौं । त्रिभुवन आर्मी क्लब राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
अब आर्मीले उपाधिका लागि एपीएफ क्लबसँग खेल्नेछ ।
एपीएफ पुलिसलाई हराएर यस अघि नै फाइनलमा पुगिसकेको छ । फाइनल खेल टियु मैदानमा शनिबार हुनेछ ।
आर्मीले दिएको २ सय ३० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमती ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ३५ रनमा समेटियो ।
बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए ।
यस्तै विपिन आचार्यले २३ रन जोड्दा आदील खानले १० रन जोडे ।
नन्दन यादवले अविजित २२ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बागमतीलाई सस्तैमा समेट्न आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिए ।
यस्तै सुशन भारी र बिक्रम शोबले ३/३ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा अलआउट हुँदै २ सय २९ रन बनाएको थियो ।
खराब सुरुवात गरेको आर्मीले १७ रन जोड्दा ३ विकेट गुमाईसकेको थियो । तर, राजेश पुलामीले ६५ रनको अर्धशतकीय इनिङ्स खेल्दै आर्मीको इनिङ्स उकासेका थिए ।
यस्तै भिम सार्कीले ४० रन जोड्दा बिक्रम सोबले ३५ रन बनाए ।
लोकेश बम २३ रनमा आउट हुँदा सुशन भारीले १६ र कप्तान विनोद भण्डारीले १० रन बनाए ।
बागमतीका गौतम केसीले ५ विकेट लिए । राम नरेश गिरि, नन्दन यादव,तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए ।
पीएम कपको पुरस्कार -
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
सेमिफाइनलमा पुग्ने टिमले ५०/५० हजार पाउने छन् ।
प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।
उत्कृष्ट ब्याट्सम्यान र बलरले समान २५-२५ हजार पाउने छन् ।