काठमाडौं । एपीएफ क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
अब उपाधिका लागि एपीएफले बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।
बिहीबार हुने दोस्रो सेमिफाइनलमा बागमती र आर्मी भिड्ने छन् ।
एपीएफले दिएको २ सय ४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पुलिस ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ७३ रनमा समेटियो ।
पुलिसका लागि पवन सर्राफले सर्वाधिक ४० रन बनाए ।
यस्तै राशिद खानले ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले ३३ रन बनाए ।
अनिल साहले २१ रन बनाउदा आरिफ शेखले १६ रन जोडे । सागर ढकाल ११ रनमा आउट भए ।
पुलिसलाई सस्तैमा समेट्न भुवन कार्कीले ४ विकेट लिए । कमल ऐरी, अविनाश बोहोरा र शरद भेषवाकरले २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए ।
यस्तै भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए ।
सुवास खकुरेल र कमल ऐरीले समान १९/१९ रन बनाए ।
कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे ।
पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।
एपीएफ अपराजित रहदै फाइनलमा पुगेको हो ।
समूह चरणमा पनि एपीएफले हार व्यहोरेको थिएन ।
समूह 'ए' मा रहेको एपीएफले ४ खेलमा ४ जितसहित समूह विजेता बनेर सेमिफाइनल खेलेको हो ।
पुलिस भने बाहिरिएको छ । पुलिसले समूह 'बी' को उपविजेता बनेर एपीएफसँगको भेट पक्का गरेको थियो ।
प्रतियोगिताको विजेताले १० लाख पाउने छ । यस्तै उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।