काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो ।
एपीएफका लागि शंकर रानाले सर्वाधिक ४४ रन बनाए ।
यस्तै भुवन कार्कीले ४२ रन जोड्दा सन्दीप जोराले ३४ रन बनाए ।
सुवास खकुरेल र कमल ऐरीले समान १९/१९ रन बनाए ।
कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनास बोहरा ११ रनमा अविजित रहदा सुर्य तामाङ १ रनमा अविजित रहे ।
पुलिसका आरिफ शेखले ३ विकेट लिए । ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।
आज दुई उपाधि दाबेदार क्लब जित निकाल्दै फाइनलमा पुग्न चाहन्छ ।
प्रतियोगितामा एपीएफ निकै बलियो देखिएको छ ।
समूह चरणमा एपीएफले हार व्यहोरेको छैन ।
समूह 'ए' को एपीएफले ४ खेलमा ४ जित निकालेको थियो ।
एपीएफ ८ अंक जोडेर समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
पुलिस भने समूह 'बी' को उपविजेता बन्यो ।
पुलिसले समूह चरणमा एक खेलमा हार बेहोरेको थियो ।
पुलिस समूह चरणमा बागमती प्रदेशसँग पराजित भएको थियो ।
समूह चरणमा पुलिसले ६ अंक जोडेको थियो ।
एपीएफ र पुलिसबीचको विजेता फाइनलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ ।
बागमती र आर्मीबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।