काठमाडौं । एपीएफ क्लब समूह विजेता बन्दै प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गर्दै एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो ।
आर्मी भने समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
अब एपीएफले पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा आर्मीले बागमती प्रदेशसँग खेल्नेछ ।
एपीएफले दिएको २ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३४ रन मात्र बनाउन सक्यो ।
आर्मीका लागि सर्वाधिक ४५ रन बनाए । यस्तै राजेश पुलामीले ३३ रन जोड्दा रोहित पौडेलले ३० रन बनाए ।
बिक्रम सोबले २८ रन बनाए भने भिम कार्कीले २७ रन जोडे ।
लोकेश बमले २१ रन जोड्दा शाहब आलम २० र आकाश चन्द १६ रनमा अविजित रहे ।
एपीएफका कमल ऐरीले ३ तथा भुवन कार्कीले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४९ ओभर ४ बलमा अलआउट हुँदै २ सय ४० रन बनाएको थियो ।
एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । यस्तै सुवास खकुरेलले ३८ रन जोड्दा सन्दीप जोराले २८ रन बनाए ।
कप्तान शरद भेषवाकर २४ रनमा आउट हुँदा बसन्त रेग्मीले २० रन बनाए ।
अमर सिंह रौटेलाले २६ रन जोडे ।
आर्मीका हरि चौहानले ५ विकेट लिए । साहब आलमले २ तथा आकाश चन्द, सुशन भारी र बिक्रम सोबले १/१ विकेट लिए ।
जितसँगै समूह 'ए' को एपीएफले ४ खेलमा अपराजित रहदै ८ अंक जोड्यो ।
आर्मीले ४ खेलमा ६ अंक जोड्यो ।
यस समूहबाट कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ बाहिरिएको छ ।