काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले नेपाल पुलिस क्लबलाई जितका लागि १ सय ७० रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४७ ओभरमा ९ विकेट गुमाएर १ सय ६९ रन बनायो ।
खेल ढिला सुरु भएको कारण ४७ ओभरमा झारिएको खेलमा प्रदेश-२ का लागि हरिशंकर साहले ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै हिमान्सु दत्तले १६ रन जोड्दा आदील अन्सारीले १५ रन बनाए ।
कप्तान सुरज कुर्मी १३ रनमा आउट हुँदा रबि सिंह र विशाल सुस्लिङले १२/१२ रन जोडे ।
पुलिसका ललित राजवंशीले ४ विकेट लिए । सागर ढकालले २ तथा पवन सरार्फले १ विकेट लिए ।
यस खेल नेपाल पुलिसका लागि निकै महत्वपूर्ण रहेको छ ।
पुलिस प्रदेश-२ लाई हराएर सेमिफाइनल पुग्न चाहन्छ ।
यस समूहबाट एपीएफ समूह विजेता बनेर सेमिफाइनलमा पुगिसकेको छ ।
अब पुलिस र लुम्बिनी प्रदेश मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ ।
सेमिफाइनलमा पुग्न पुलिसलाई प्रदेश-२ माथि जित निकाल्नु पर्नेछ ।
यदि पुलिस पराजित भएमा लुम्बिनी सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रदेश-२ प्रतियोगिताबाट बाहिरिसकेको छ ।
पुलिस ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लुम्बिनी ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अंक विहीन रहेको प्रदेश-२ पुछारमा रहेको छ ।