काठमाडौं । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित निकालेको छ ।
आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश-२ लाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले सान्त्वना जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा प्रदेश-२ ले दिएको १ सय ९६ रनको लक्ष्य सुदूरपश्चिमले ३३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
सुदूरपश्चिमको जितमा सन्जु धिमालले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान खडक बोहोराले ४३ रन जोड्दा गजेन्द्र बोहोराले ३९ रन बनाए ।
अरुण ऐरीले १९ रन जोड्दा अर्जुन साउद ७ रनमा आउट भए ।
प्रदेश-२ का कुमार थापाले ३ विकेट लिए । यस्तै हरिशंकर साहले २ तथा विवेक यादव र रबि साहले १-१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४२ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनायो ।
प्रदेश-२ का हरिशंकर साहले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै विवेक यादवले ४१ रन जोड्दा महबुब आलमले २३ रन जोडे ।
राहुल प्रताप सिंह १२ रन आउट हुँदा कुमार थापा ११ रनमा अविजित रहे ।
सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३/३ विकेट लिए ।
अरुण ऐरीको नाममा २ विकेट रह्यो ।
जितसंगै समूह 'बी' सुदूरपश्चिमले ४ खेलमा २ अंक जोड्यो ।
सुदूरपश्चिम प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ ।
यस हारसंगै प्रदेश-२ पनि प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रदेश-२ ले ३ खेलमा अंक जोड्न सकेको छैन ।
पुछारको प्रदेश-२ को लगातार तेस्रो हार हो ।
अन्तिम खेलमा प्रदेश-२ ले नेपाल पुलिससँग खेल्नेछ