काठमाडौं । प्रदेश-१ ले प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा सान्त्वना जित हात पारेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई ५९ रनले पराजित गर्दै प्रदेश-१ ले पहिलो जित निकालेको हो ।
प्रदेश-१ ले दिएको २ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णाली ३५ ओभरमा अलआउट हुँदै १ सय ५६ रनमा समेटियो ।
कर्णालीका लागि विपिन रावलले सर्वाधिक ४७ रन जोडे । यस्तै निश्चल रावलले ३१ रन जोड्दा कप्तान रविन्द्र शाहीले १८ रन बनाए ।
दिवन पुन १४ र दिनेश अधिकारी ११ रनमा आउट भए ।
प्रदेश-१ का मिनास थापाले २६ रन खर्चिएर ५ विकेट लिए । दिपेश कँडेलले ३ र मनोज तामाङले २ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको थियो ।
प्रदेश-१ को लागि कप्तान सिद्धान्त लोहनीले ६६ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै शुभशंकर उराले ३६ रन जोड्दा मिनास थापाले २५ रन बनाए ।
सर्वन यादव र फिर्दोस अन्सारीले १७/१७ रन जोड्दा राजन मगरले १० रन बनाए ।
कर्णालीका रविन्द्र शाहीले ३ विकेट लिए ।
यस्तै दिनेश अधिकारी र अनुज चुनाराले २/२ विकेट लिए ।
जितसंगै समूह 'ए' को प्रदेश-१ ले ४ खेलमा २ अंक जोड्यो ।
प्रदेश-१ प्रतियोगिताबाट यस अघि नै बाहिरिसकेको छ ।
प्रदेश-१ चौंथो स्थानमा रहेको छ ।
कर्णालीको यो दोस्रो हार हो ।
कर्णाली ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।